विजय उन्मातमा ओलीले भने ‘एमालेले बहुमत ल्याएर सरकारको नेतृत्व गर्छ’

651
views

पोखरा, १३ जेठ । पोखरा लेखनाथ महानगरसहित चार स्थानीय तहमा जित हात पारेपछि आयोजित विजयोत्सव आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले तराईमा छैन’ भन्नेहरुले दोश्रो चरणको चुनावको नतिजा आएपछि थाहा पाउने चेतावनी दिए । अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको चुनावमा पनि आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरे । साथै स्थानीयसँगै प्रदेश र केन्द्रको चुनावमा बहुमत ल्याएर एमाले सरकारको नेतृत्व गर्ने उनको दाबी छ ।
दोश्रो चरणको चुनावमा पनि एमालेले बहुमत ल्याएर देशैभरको पहिलो पार्टी बन्ने उनको दाबी छ । एमालेमा लहर आएका कारण त्यसलाई रोक्न अन्य दलहरु लागेको बताउँदै उनले भने, सरकारवादी ‘बलिया पार्टी, मिलेर आउँदा पनि एमालेलाई हराउन सकेनन् र सक्दैनन् ।
ओलीले राष्ट्रिय जनता पार्टीलाई अघि सारेर दोस्रो चरणको निर्वाचन पर सार्ने प्रयास भइरहेको भन्दै चुनाव सार्ने प्रयास चुनावै नगर्ने षडयन्त्र भएको बताए । अध्यक्ष ओलीले नेपालमा रेल गुडाउछु भन्दा हाँसेर उडाएकाहरुलाई छुकछुके होइन, सुलुलु चल्ने रेल चढाई छाड्ने बताए ।
समय आएपछि एमाले आफैँ सरकारमा जान्छ
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी अब बहुमत ल्याएर मात्र सरकारमा जाने बताएका छन् । यद्यपि दलहरुबीच सहमतिको आवश्यक रहेको उनको भनाइ छ । संविधान कार्यान्वयन र दोश्रो चरणको निर्वाचन सम्पन्न गर्न दलहरुबीच सहमति आवश्यक रहेको ओलकिो भनाई थियो ।
प्रधानमन्त्री दाहालको राजीनामातर्फ संकेत गर्दै उनले भने ‘छाड्ने र जाने हतार किन भएको हो ? ‘दोश्रो चरणको चुनाव सकेर छाडेको भए हुन्थ्यो ।’