नेपाल प्रहरीले पक्राउ गरेका डीएसपीसहितका पाँच भारतीय प्रहरी छुटे

669
views

महेन्द्रनगर, १९, जेठ । नेपाल प्रहरीले पक्राउ गरेका डीएसपीसहितका पाँच जना भारतीय प्रहरी छुटेका छन् । उनीहरुलाई शुक्रबार बिहान छोडिएको हो । भारतीय प्रहरीको टोली नेपाल प्रवेश गरी एक नेपालीलाई पक्राउ गर्दा बुधबार प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
नेपाल प्रहरीले पक्राउ परेका भारतीय प्रहरीलाई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय डोटीले कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीसम्म पु¥याएको र भारतको बनवासास्थित प्रहरी थानाको जिम्मा लगाएको छ । बनवासास्थित थानाका इन्चार्ज राजेश पाण्डेयको जिम्मा लगाएर छोडिएको महाकाली अञ्चल प्रहरी कार्यालयका एसएसपी सुशील भण्डारीले जानकारी दिनुभयो ।
माथिल्लो निकायसँगको समन्वयपछि नेपाल प्रहरीको क्षेत्रीय कार्यालयले उनीहरुलाई भारतीय प्रहरीको जिम्मा लगाएर छोडेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ पछि जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएका उनीहरुलाई भारतीय प्रहरीका उच्च अधिकारीहरुको रोहबरमा छोडिने बतार्ईएपनि जुनियर तहका अधिकारीको रोहबरमा छोडिएको हो । डोटीको दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै पक्राउ गरेर लैजाने भारतीय प्रहरीका डिएसपी सहित पाँच जना भारतीय प्रहरी र दुई जना नेपाली गरी सात जनालाई डोटी प्रहरीले बुधबार राती पक्राउ गरेको थियो । भारतमा बैंक डकैतीको आरोप लागेका लालबहादुर आउजीलाई पक्राउ गर्न भारतमा रहेका उनकै दुई जना साथीको सहयोगमा भारतीय प्रहरी डोटी पुगेको थियो ।