इरानको संसद भवन र खमेनीको समाधी स्थलमा आईएस आक्रमण

696
views

एजेन्सी । इरानको राजधानी तेहरानस्थित संसदभवन र इरानका संस्थापक नेता आयतोल्लाह खोमेनीको समाधीस्थलमा बन्दुकधारी र आत्मघाती हमलाकारीले गरेको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । इरानले राजधानी तेहरानमा हमला गरी १२ जनाको हत्या गर्ने इस्लामिक स्टेट (आईएस) मा आबद्ध इरानी रहेको जनाएको छ ।
इरानी सरकारी टेलिभिजन च्यानलसँगको कुराकानीमा इरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका उपप्रमुख रजा सैफुल्लाहीले आक्रमणकारी इरानबाट नै आईएसमा गएकाहरु भएको जनाएका छन् ।
यसअघि इस्लामिक स्टेटले यो हमलाको जिम्मेवारी लिँदै इरानमा शिया मुस्लिम समुदायमाथि अझै हमला गर्ने चेतावनी दिएका थिए । इरानको रिभोल्युसनरी गार्डसले यसको गतिलो जवाफ दिने प्रण गर्दै अमेरिका र साउदी अरबतर्फ औला सोझ्याएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गरेको साउदी अरब भ्रमणका क्रममा इरानको चर्को आलोचना गरेका थिए । तेहरानको संसद भवन भित्र र धार्मिक नेता आयातुल्लाह खमेनीको समाधीस्थलमा गोलाबारी भएको थियो ।
सो आक्रमणमा परी १२ जना मारिएका छन् भने ३९ जना घाइते भएका छन् । अमेरिका र साउदी अरब दुवैले यो आक्रमणको निन्दा गरेका छन् । पश्चिम एशिया मामलाका जानकारी कमर आगाले संसारभरमा नै शिया–सुन्नी विवाद बढिरहेको र यसले गम्भिर रुप लिनसक्ने जनाएका छन् ।
मध्यपूर्वमा हाल सुन्नीमा वहाबी सलाफी र मस्लिम ब्रदरहुड गरी दुई प्रकारका विचारधारा रहेका छन् । दुवै समूहबीच प्रतिद्वन्द्वीता बढिरहेको छ भने प्रभाव पनि बढिरहेको छ ।
साउदी अरब यो क्षेत्रमा मुस्लिम ब्रदरहुडको प्रभाव कम गर्न चाहन्छ । कतारले मुस्लिम ब्रदरउडलाई समर्थन गरेको भन्दै अन्य देशले कतार सँगको राजनीतिक सम्बन्ध तोडिएको हो । अर्कोतर्फ साउदी अरब इराकमा बहुसंख्यक रहेका शिया सरकारलाई मान्यता दिन चाँहदैन । साउदीले यो क्षेत्रलाई सुन्नीको प्रभावक्षेत्रको रुपमा देख्न चाहन्छ ।