काठमाडौं, २९, जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मासँगको प्रारम्भिक वयानका क्रममा २१ अर्ब रुपैयाँ राजश्व हिनामिना गरेको पाइएको छ । आयोगले कर फर्छ्यौट आयोगले गरेका निर्णयका १ हजार ७८ फाइलमध्ये ८७ वटा फाइलको अनुसन्धान गर्दा प्रत्येक फाइलमा १ करोडको राजश्व हेराफेर गरेको पाइएको स्रोतले जनाएको छ । आयोगले सबै फाइल अझै पाएको छैन ।अनुसन्धानमा संलग्न एक उच्च अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ४० अर्ब ८३ करोड रुपैयाँ बराबरको कर फछ्र्याैटको निर्णय गर्दा राज्यकोषमा जानुपर्ने २१ अर्ब रुपैयाँ छुट दिएको पाइएको छ ।
सबै फाइल अध्ययन गरिसक्दा यो हिसाब खर्बमा पुग्न सक्ने अनुमान गरिएको छ । आयोग स्रोतका अनुसार यो प्रकरणका सबै फाइल अध्ययन गरिसक्न कम्तिमा ३ महिना लाग्नेछ ।
एक उच्च अधिकारीले भने, ‘अहिलेसम्मकै सबैभन्दा ठूलो घोटाला र नौलो प्रकारको घटना हो यो । यसमा धेरै कानुनी जटिलताहरु पनि छन् । अनुसन्धान र मुद्दा प्रक्रियामा धेरै कठिनाई पनि छन् ।’आयोगले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि शुक्रबारसम्म आयोगमा हाजिर हुन पत्र काटेको छ । महत नेपालमै नरहेको जानकारी आयोगगले प्राप्त गरेको छ ।
यो आयोग तत्कालिन अर्थमन्त्री रामशरण महतले गठन गरेका थिए । कर फर्छ्यौट गर्नका लागि भनेर गठित सो आयोगको सदस्य सचिव महतले आफ्ना विश्वासपात्र सहसचिव चुडामणी शर्मालाई राखेका थिए । शर्मा यसअघि सम्पत्ति शुद्धिकरणको प्रमुख पनि थिए ।
अख्तियारले कर फछ्र्यौटका नाममा अर्बौ रुपैयाँ घोटाला भएको सूचना पाएपछि पटक(पटक शर्मासँग फाइल मागेको थियो । तर, उनले अटेर गरेपछि बयानका लागि बोलाएर पक्राउ गरिएको थियो । शर्मा अहिले अख्तियारको हिरासतमा छन् ।
अदालतबाट दुई पटक म्याद थप गरिएका शर्माले दिनमा तीन पटकसम्म आफू बिरामी परेको भन्दै अस्पताल लैजान माग गरेका छन् ।
वीर अस्पताल र नर्भिकमा उनको स्वास्थ्य जाँच गर्दा कुनै समस्या नदेखिए पनि उनले भने बिरामीको नाटक गरिरहेका छन् ।
कर फर्छ्यौट आयोगले सफाई दिएको एउटा ब्यापारिक फर्मले ४ अर्ब रुपैयाँ राजश्व तिर्नुपर्ने देखिएको थियो । आयोगले ४ करोड रुपैयाँ असुलेर अरु रकम मिनाह गरेको पाइएको एक अनुसन्धान अधिकृतले बताए । यो एउटा उदाहरणमात्र हो । उनीहरुले एउटा मदिरा उत्पादक कम्पनीलाई ९९ प्रतिशत राजश्व छुट दिइएको पनि भेटिएको छ । अनलाइनखबरबाट
चुडामणी शर्माको प्रारम्भिक अनुसन्धान ८७ फाइल खोल्दा २१ अर्ब घोटाला
कर फर्छ्यौट आयोगका अध्यक्ष र सदस्यको खोजी, अर्बौ राजश्व हिनामिना