निर्वाचन हुँदैन भनेर विपक्षमा नबोल्न प्रमुख निर्वाचन आयुक्तको चेतवानी

557
views

काठमाण्डौ, ३०, जेठ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले असार १४ गतेको निर्वाचन हुँदैन वा सर्छ भनेर चुनावको विपक्षमा नबोल्न चेतावनी दिनु भएको छ । यादवले ‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेकोपछि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नर्गन आग्रह गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै निर्वाचनको विपक्षमा कसैले पनि कुरा गर्न नहुने बताउनु भएको हो । ‘मुलुक निर्वाचनमा गैसकेको छ, असार २ गते मनोनयन हुन्छ, १४ गते निर्वाचन हुन्छ, आयोग अब निर्वाचनबाट एक ईन्च पनि ब्याक हुँदैन् ।’ चारवटै प्रदेशमा एकै चरणमा निर्वाचन हुन्छ, यसको सम्पूर्ण तयारी आयोगले गरिसकेको छ ।’ यादवले सबै जिल्लामा निर्वाचन सामाग्री पु¥याई सकिएको र निर्वाचनको तयारी पूरा भैसकेको पनि जानकारी गराउनुभयो । उहाँले ४६१ स्थानमा एकै चरणमा निर्वाचन हुने र अब पनि संख्या थपे आयोगले निर्वाचन गर्न नसक्ने बताउनुभयो । आयोगका मुख्य निर्वाचन अधिकृतदेखि सबै कर्मचारीहरु ४६१ निर्वाचन क्षेत्रमा पुगिसकेको पनि उहाँले जानकारी गराउनुभयो ।
सुरक्षाको प्रत्याभुति गराउन आयोगले सरकारलाई पटक–पटक पत्राचार गरिसकेको जानकारी दिँदै उहाँले भन्नुभयो,‘सुरक्षाको प्रत्याभुति हुन्छ, सुरक्षाको वातावरण बनाउनको लागि हामीले सरकारलाई भनिसकेका छौं ।’ उहाँले चुनाव चिन्ह जतिबेला माग्यो त्यति नै बेला दिन नसकिने प्रष्टयाउदै उहाँले भन्नुभयोे,‘चुनाव अघि मिति सार्ने काम र चुनाव चिन्ह दिन सकिँदैन् ।’ राजपा नेपाल लगायत केहीदलहरुले निर्वाचनबारे असहमति राखेकोबारे टिप्प्णी गर्दै उहाँले भन्नुभयो,‘उहाँहरुको माँग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेका छौ । स्थानीयतहको कानून संशोधन, राजनीतिक दल सम्बन्धी ऐनमा पनि संशोधन गरिसकिएको छ । तीनदिनको समय पनि सूचना जारी गरेका थियौं, अधिकतम लचकता अपनाएका थियौं, हामी त अहिले पनि आग्रह गरिरहेका छौं, कि निर्वाचनमा आउनुहोस् ।’