माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगायो

628
views

काठमाण्डौ, ३ असार । माओवादी केन्द्रले प्रदेश नम्बर १ का १३७ तहमै आफ्ना उम्मेदवारहरु चयन गरिसकेको छ । केही वडा तहका सदस्य फेरिएपनि प्रमुख पदका उम्मेदवारहरुको हेरफेर नहुने गरी र टुंगो लगाएको माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य सुरेश राईले जानकारी दिए ।
माओवादीले भोजपुरको एउटा स्थानमा कांग्रेस, संघीय समाजवादीसँग चुनावी तालमेल गरेको छ । प्रमुखमा कांग्रेस, उपप्रमुखका संघीय समाजवादी र वडाध्यक्षमा माओवादी हुने गरी चुनावी तालमेल भएको छ । उदयपुरमा संघीय समाजवादीसँग एउटा तहमा तालमेल गरेको छ । प्रमुखमा माओवादी र उपप्रमुखमा संघीय समाजवादीलाई दिने गरी तालमेल भएको छ ।
धरान उपमहानगरपालिकामा पनि संघीय समाजवादीसँग चुनावी तालमेलको प्रयास भइरहेको छ । विराटनगर महानगरपालिकामा संघीय समाजवादीसँग चुनावी तालमेलको प्रयास गरे पनि सफल नभएपछि कांग्रेससँग तालमेलका लागि प्रयास भइरहेको माओवादीले जनाएको छ । पाँचथरमा कांग्रेससग तालमेलको प्रयास भइरहेको छ ।
केन्द्रीय नेताहरू गिरिराजमणि पोखरेल, गोपाल किराती, सावित्रीकुमार काफ्ले, सुरेश राईलगायतका नेताहरू १ नम्बर प्रदेशमा माओवादीले परिचालन गरेको छ ।
मधेसका केहीमा उम्मेदवार टुंगिन बाँकी
माओवादीले ५ नम्बर प्रदेशका केही स्थानमा अझै उम्मेदवार टुंगो लगाउन बाँकी छ । मधेसका केही स्थानमा उम्मेदवार चयन गर्न बाँकी रहेको माओवादी केन्द्रीय कार्यालयका नेता चक्रपाणि खनालले जानकारी दिए । उनका अनुसार रुपन्देहीको एउटा तह, कपिलवस्तुका दुईवटा तह र अन्य केही स्थानमा उम्मेदवार टुंगो लगाउन बाँकी छ । तर, ती स्थानको उम्मेदवार टुंगो शनिबार दिनभर लगाइसक्ने खनालले बताए । ‘हामी शनिबार टुंग्याइसक्छौँ,’ उनले भने ।
५ नम्बर प्रदेशमध्ये रुपन्देहीका केही स्थानमा माओवादीले कांग्रेससँग चुनावी तालमेल गरेको छ । बुटवल उपमहानगरपालिकामा कांग्रेसलाई मेयर र माओवादीलाई उपमेयर दिने गरी तालमेल भएको छ । त्यस्तै, कपिलवस्तुका केही स्थानमा पनि माओवादी–कांग्रेसको तालमेल भएको छ । कपिलवस्तुमा राष्ट्रिय जनमोर्चासँग तालमेल भएको उनले जानकारी दिए । ‘अर्घाखाँचीका केही स्थानमा कांग्रेससँग तालमेल गरेर चुनाव लड्ने गरी तयारी भइरहेको छ,’ उनले भने, ‘टुंगिसकेको छैन, तर सम्भावना बढेर गएको छ ।’
केन्द्रबाट माओवादीले ५ नम्बर प्रदेशमा प्रदेश इन्चार्ज वर्षमान पुन, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल, डिलाराम आचार्य, गिरिधरीलाल न्यौपाने, सुदर्शन बराल, हकिकुल्ला खाँ लगायतका नेताहरूलाई परिचालन गरेको छ ।
उम्मेदवार टुंगियो, एक्लै चुनावी प्रतिस्पर्धा गर्दै
माओवादी केन्द्रले ७ नम्बर प्रदेशका नौ जिल्लाका ८८ वटै तहमा एक्लै चुनावी प्रतिस्पर्धा गर्न लागेको छ । सबै तहमा पार्टीका तर्फबाट उम्मेदवार चयन गरेर अहिले चुनावी अभियान अगाडि बढिरहेको प्रदेश नम्बर ७ का माओवादी इन्चार्ज लेखराज भट्टले जानकारी दिए । ७ नम्बर प्रदेशमा हामी एक्लै चुनावी प्रतिस्र्धा गर्न लागेका छौँ, कहीँ कसैसँग पनि तालमेल गरेका छैनौँ,’ भट्टले नयाँ पत्रिकासँग भने ।
माओवादीले त्यस क्षेत्रमा तीन महिनादेखि घरदैलो, चुनावी सभाहरू घरेर चुनाव प्रचारप्रसारका काम अगाडि बढाइरहेको छ । पार्टी केन्द्रले त्यस क्षेत्रको चुनावी कमान्डरका रूपमा केन्द्रीय कार्यालय सदस्य लीलामणि पोखरेललाई जिम्मेवारी दिएर परिचालन गरेको छ ।