मधेस बन्दले करोडौँको सामान भन्सारमा रोकियो

662
views

काठमाण्डौं, ४, असार । मधेस बन्दका कारण करोडौंको सामान भन्सारमा रोकिएको छ । मधेसमा राष्ट्रिय जनता पार्टी (राजपा) ले निवाचिनविरोधी गतिविधि बढाउँदा भन्सारमा रोकिनुको साथै मधेस तहसनहस बन्दै गएको छ । बन्दको प्रभावका कारण भन्सारमा सबै मालसामान थन्किएपछि देशभरी नै अभाव सृजना हुने देखिन्छ । प्रमुख नाका क्षेत्र नै बन्दको प्रभावमा परेपछि संकट देखापर्ने अवस्था सिर्जना भएको हो । सिरहामा साना तथा ठूला सवारीसाधन ठप्प छन् ।
बजार, शैक्षिक संस्थाहरू बन्दको प्रभावमा परेका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मुख्य ठाउँमा राजपा कार्यकर्ताले प्रहरी चढेको गाडी नै तोडफोड गरेका छन् । तोडफोड गरेको आरोपमा प्रहरीले राजपा कार्यकर्ता ललन झालाई पक्राउ गरेको छ । राजपा कार्यकर्ताले महोत्तरीको पिपरा गाउँपालिकाका निर्वाचन अधिकृत लेखनाथ लुइँटेलसँग भएको निर्वाचन सामग्री खोसेर जलाइदिएका छन् । पिपराबाट जलेश्वर आउँदै गर्दा प्रकौली चोकमा आन्दोलनकारीले आचारसंहिता, नियमावली, निर्देशिका, निर्वाचन पुस्तिकालगायतका सामग्री खोसेको लुइँटेलले बताए ।
मधेस बन्दका कारण जलेश्वरस्थित भिठामोड नाकामा करोडौँको मालसामान थन्किएको छ । पेट्रोलियम पदार्थसहित विभिन्न दैनिक उपभोग्य सामान थन्किएका हुन् । आलु, प्याज, फलफूललगायतका सामग्री बिग्रिन थालेको भिठामोड भन्सार कार्यालयले जनाएको छ । यता स्थानीय प्रशासनले भने स्कर्टिङ गरेर भए पनि थन्किएका सामग्री गन्तव्यसम्म पुर्याउने जनाएको छ ।