भरतपुर महानगरपालिका–१९ को मतगणना वा पुनमतदानका विषयमा सर्वोच्चमा बहस शुरु

517
views

काठमाडौं, ६, असार । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतगणना गर्ने वा पुन मतदान गर्ने भन्ने बिषयमा सर्वोच्च अदालतमा बहस शुरु भएको छ । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको वेन्चमा बहस शुरु भएको हो ।
पुनमतगणना गर्नुपर्ने भन्दै परेको रिट निवेदकका तर्फबाट बहस शुरु भएको हो । रिट निवेदकका वकिलहरुको बहसपछि सरकारी र निर्वाचन आयोगका वकिलहरुले बहस गर्नुहुनेछ ।
यसअघि न्यायाधीश चोलेन्द्र शम्सेर राणाको इजलाशले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएमा पुनमतगणना हुनेछ भने राणाको अन्तरिम आदेशलाई खारेज गरेको अवस्थामा पुनमतदान हुनेछ ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेको थियो । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणनास्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको थियो ।
निर्वाचन आयोगको उक्त निर्णयमा असन्तुष्ट पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो । सोही गाउँका मतदाता समेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गर्नुभएको थियो ।