कालञ्जर तीर्थ भूमि महिमा

76
views

कालञ्जर भूमि सृष्टिको आदि भूमि हो । कालीगण्डकी नदी यसै भूमिलाई सिचित र पवित्र पार्दै बहेकी छन् । काली गण्डकी नदी संसारकै नदीहरुमा प्र्रमुख नदी आमा हुन् । शालग्राम शिला यिनै नदीमा पाइनु र यिनै शिला सबैभन्दा पुरानो प्राणीको जीवाशेष भनिनुले प्राणी जगतको मूल सृष्टि आधार दिव्यमान शालग्रामलाई लिइएको छ । शालग्राम चक्रका हिसावले शालग्राम जीवित छन् भन्ने देखिन्छ । किनकी जीवकिट विना आकार संभव छैन ।

यो भूमि देवी र देवताहरुको बास भएको अलौकिक भूमि हो । यो दिव्य भूमि पहाडी श्रृंखलाहरुको दर्शनीय प्रमुख तीर्थस्थलहरु मध्ये एक प्रमुख धर्मस्थली हो । मुक्तिनाथ तीर्थस्थलको प्रमुख प्रवेशद्दारका रुपमा रहेको कालञ्जर महादेव र कालञ्जर काली माताको दीव्य दर्शन विना मुक्तनाथ दर्शन अपूरो नै हुन्छ । यिनै कालञ्जर क्षेत्रमा सप्तव्याधा ब्राहमणहरु मृगयोनी रुपमा आई साधना गरेका र यहाबाट मात्र मुक्ति मिलेको देखिन्छ भने बनौं क्षेत्र मृगहरुको क्रिडास्थल साथै शिलाहरुमा मृगहरुको खुरहरु अहिले पनि देख्न दर्शन गर्न पाइन्छ । सो प्रकारका शिलाहरु यत्रतत्र रहेका छन् ।

पावन पुण्य तीर्थस्थल ऋषि भूमि, तपो भूमि, भुक्ति मुक्ति भूमि र भक्ति साधनाका हिसावले कालजयीका रुपमा परिचित कालजयी भूमि साथै पुनर्जीवन प्राप्ति औषधीय जडिवुटिले युक्त दामोदर र धवलागिरि हिमालय समेतको विविध हिमालय क्षेत्रले घेरी विश्व सुन्दरता प्रदर्शन गरेको भौतिक संपदाले युक्त धनी अखण्ड क्षेत्र कालञ्जर भूमि हो । प्राकृतिक छटा हिमश्रृंखला र मानसरोवर रुपी ताल तलैया पूर्ण विशाल दृश्य अदृश्य प्राकृतिक शक्ति स्रोत संपन्न अद्भूत पावन भूमि हो । विभिन्न शक्तिपीठ विभिन्न जातजाति र संस्कृति बोकेको विश्वलाई नै शान्ति र एकताको संदेश दिन सक्ने जीवको आदिरुप उत्पन्न अलौकिक शक्ति भएको धर्म क्षेत्र हो कालञ्जर भूमि ।

भगवान विष्णुको जीवित स्वरुप मानिने शिला काली गण्डकी माताको गर्भगृहमा पाइने र यिनै शालग्रामलाई प्रथम जीवशेषका रुपमा लिएका हुंदा पनि यो क्षेत्रको धार्मिक गरिमा अन्य तीर्थस्थलहरुको भन्दा भिन्न छ ।

कालञ्जर क्षेत्र विशेषत राजनैतिक भूगोलका दृष्टिले कास्की पर्वत म्याग्दी र मुस्ताङ्गका विशालतम् महाभारतीय पर्वत श्रृंखलाहरुलाई समेट्दछ । कालञ्जरको केन्द्रभूमि पुराणहरुका अनुसार पर्वत जिल्लाको हालको जलजला गाउँपलिका पर्दछ । मत्स्य पुराणले कालञ्जर पहाडमा माता काली भौतिकरुपमा रहेको उलेलेख छ । जहाँ कालञ्जर पहाड छ त्यहा माता काली विराजमान छिन् ।–

जया वराहशैले तु कमला कमलाये ।
रुद्रकोट्यामं च रुद्राणी काली कालञ्जरे गिरौ ।। ३२
महालिङ्गे तु कपिला मर्कोटे मुकुटेश्वरी ।
शालग्रामे महादेवी शिवलिङ्गे जलप्रिया ।।३३

यस पुराणका अनुसार कालञ्जर पहाड माता कालीको भूमि हो र माता यो पावन भूमिमा रुद्राणी रुपमा रहेको स्पष्ट उल्लेख छ ।

मातृस्थली कालञ्जर शैल पहाडमा शैलजा नामकी बराही देवीको नामबाट सालिजा देवीको नाम रहन गएको होला । शैलजाको पूर्व नामरुपबाट अहिलेको जनजीव्रोको बोली शालिजा भएको हुन सक्ने अनुमान स्वतः लगाउन सकिन्छ । शैलजा बराही पनि काली कालञ्जर माताको अर्को सुप्रशिद्द नाम हो ।

कालञ्जरमा काली देवी कालीगण्डकी माताको रुपमा प्रवाहित समेत भएकी छन् । भगवान विष्णुको जीवित स्वरुप मानिने शिला काली गण्डकी माताको गर्भगृहमा पाइने र यिनै शालग्रामलाई प्रथम जीवशेषका रुपमा लिएका हुंदा पनि यो क्षेत्रको धार्मिक गरिमा अन्य तीर्थस्थलहरुको भन्दा भिन्न छ ।

वराह पुराणले यसै कालञ्जर दिव्यस्थलीलाई कालञ्जर महादेव भगवान शिवको तीर्थस्थलहरुको मुख्य तीर्थको रुपमा पनि उल्लेख गरेको छ ।–
कालञ्जरं महादेवं तस्य तीर्थैपतिं शिवम ।
यस्य सन्दर्शनाच्चैव कृष्णगंगा फलम लभेत ।। ६

जहाँ कालञ्जर महादेव हुनुहुन्छ त्यहाँ तीर्थै तीर्थहरुको पनि पतिं तीर्थका रुपमा मानिने शिव तीर्थ रहेको वर्णन छ । यसले के संदेश दिन खोजेको छ भने कालञ्जर महादेवको दर्शन गर्नु शिव महादेवको दर्शन गर्नु हो । कालञ्जर पहाडमा जोडिएर आउने अर्को नाम हम्पालमा रहेको शिर्पु हो । यस क्षेत्र जलजला गाउँपालिकाको ६ न्. वडा सालिजामा पर्छ । शिर्पुको नामाकरण भगवान शिवको पुरीबाट शिवपुरी हुंदै शिवपुरको अपभ्रंस रुप शिर्पु हुन सक्ने एउटा आकंलन गर्न सकिन्छ भने अर्को आंकलन कालञ्जर पहाडको हम्पाल क्षेत्र महादेव शिवको शिर स्वरुपको भएकाले महादेव शिवको शीर प्रतीत हुनाले शीरपुर हुदै कालन्तरमा शिर्पु नामाकरण गरिएको हुन सक्छ । अझ अर्को तर्क के पनि गर्न सकिन्छ भने यस क्षेत्रमा भगवान शिवका चेला तथा अनुयायीहरु गिरि पुरि भएका र भगवान शिवका साधनारत स्थल हम्पाल शीर रहेकाले गिरि पुरीको उक्त साधनास्थलाई शिर्पु नाम दिइएको हुनसक्छ । भगवानको नाम जोडिएको यो क्षेत्र शिर्पुमा मठ मन्दिर र देवालयका भग्नावशेषले यो कालञ्जरको अति उत्तम साधना क्षेत्र हो भनी सहजै अनुमान लगाउन सकिन्छ ।

कालञ्जर शैलको ऐतिहांसिक महत्व के हो त भन्ने तर्फ दृष्टि दिंदा जीव–किटको प्रथम रुप विष+अणु अर्थात विजाणु हुन्छ । सामुन्द्रिक जीवको पहिलो जीवित स्वरुप विष्णु हुन्छ । पहाड पर्वतहरुको उदय पूर्व संपूर्ण ब्रह्माण्ड जलमय थियो । यही जलमय क्षेत्रमा नै विज उत्पति भयो । जसले जीवको उत्पति गर्यो । उक्त जीव विज नै विष्णु रुप हो । शालग्राम शिलाहरुलाई सामुन्द्रिक जीवहरुको शेष भनिएकाले शालग्राम पाइने स्थान कालञ्जर पहाडमा नै हो । यसरी जीवोदयको प्रथम जलथल कालञ्जर नै हुन् भन्ने कुरा शालग्राम शिला प्रमाणका रुपमा रहेका छन् । यसकारणले पनि कालञ्जर पहाडको महत्व ऐतिहाँसिक छ । यो कुरा दुनिया जगतलाई प्रचार प्रसार गर्न सकेमा कालीगण्डकी नदीका शालग्राम शिलाहरुको अझ थप महत्व बढ्ने र कालञ्जर पहाड दर्शनका लागि विश्व जनसमुदाय एक पटक मातृ पितृस्थल अवलोकन र परीक्षणका लागि आउनेछ । यो क्षेत्र अन्नपूर्ण धवलागिरि समेतका हिमालहरुको पदयात्रा समेत भएकाले विश्वको प्रथम गन्तव्य भ्रमण स्थल पनि बन्दै गैरहेको छ ।

कालञ्जर भूमि धर्म शास्त्रीय मतानुसार पवित्र पावन भूमि कालजयी क्षेत्र हो । सत्पात्रले सत् गुरु ग्रहण गर्दा आयु लम्विएको र काल भागेको कथन यसै कालञ्जर क्षेत्रको महिमा कथा वर्णनमा पुराणहरुले गरेका छन् ।

महादेवकालीन युगमा महादेवको बिबाह हिमालय राजाकी छोरी पार्वतीसंग हुंदा महादेव दुलहाकासाथ कालञ्जर नृप (राजा) सहित धेरै ब्यक्तित्वहरु हिमालय पर्वतकंहा जन्ति गएको उल्लेख पुराणमा छ ।

बनौं क्षेत्र धार्मिक र सांस्कृतिक पर्यटनको महत्व बोकेको ऐतिहाँसिक पावन भूमि क्षेत्र हो । हरिवंश पुराणका अनुसार मृगहरुको तपस्या भुमि वा मृगक्रिडास्थल क्षेत्र पर्वत जलजलाको हालको वडा नं. ९ बनौंको देउरालीका शिलाहरुमा मृगका (पदचिन्ह पदचाप) खुरहरु प्रशस्त मात्रमा देख्न पाइन्छ । उक्त क्षेत्र हाल बन वुट्टयान भएका कारण पर्सेउला र झाडीहरुले ढाकिएका छन् । बनौं क्षेत्र धार्मिक दृष्टिकोणले संरक्षित हुनु जरुरी छ । शिलाहरु संरक्षित अवस्थामा छैनन् । यस क्षेत्रबाट निलकंण्ठ हिमाल लगायतका केही हिमालय पर्वतका हिमश्रृखंलाहरुको दृश्यावोकलन गर्न सकिन्छ । यसै क्षेत्रबाट ती मृगहरु मुक्त भई मानव चोलामा आएको पुराण उल्लेख गर्दछ । श्रीहरिवंशपुराणमा मृग योनी र मृग क्षेत्रबारे उल्लेख गरेको छ ।–
शुभेन कर्मणा तेन जाता जातिस्मरा मृगाः ।
त्रासुन्तपाद्य संविग्ना रम्ये कालञ्जरे गिरौ ।।२४
जहुःप्राणान्मरुं साध्य लध्वहारास्तपस्विनः ।
तेषां मरु साधयता पदस्थानानि भारत ।
तथैवाद्यपि दृश्यन्ते गिरौ कालञ्जरे नृप ।।२८
भरत राजाले पनि यसै बनौको कालञजर क्षेत्रबाट मृग काली गण्डकी नदी तर्दै गर्दा मृग बच्चाको उद्दार गरी आफ्नू आश्रममा लगी पालताल र संरक्षण गरेको कुरा पुराण कथनमा छ ।

पितृ उद्दारका लागि पितृ तर्पण र श्राद्द पिण्डदान स्थलबारे गरुण पुराणले स्पष्ट उल्लेख गरेको छ –
कालञ्जरम महातीर्थं शुक्लतीर्थमनुमत्तम् ।।

वार्षिक रत्नावलीको श्रावण स्नान विधिमा मानसरोवर समान देवराज इन्द्रले बनाएको उत्तम कुण्ड जो मृगतीर्थ नामले प्रशिद्द छ यसै कालञ्जर क्षेत्रमा पर्दछ भनी उल्लेख गरेको छ । यसै तीर्थमा गरिएको श्राद्दले पितृहरुको सदगति प्राप्त हुने पुराण वचन छ । यो मृगतीर्थ फलपुष्पं भनिएकाले कास्की पोखरामा रहेका दुई ठूला जलाशय मध्ये कुनै एक जलाशय हुन सक्ने आकंलन गर्न सकिन्छ ।

दिव्य कालञ्जरे शैले जम्वुखण्ड मनोहरे ।
सुशितल जलाच्छ्ये फलपुष्प समन्विते ।।७
तत्रऽऽसाँद देवराजेन निर्मितकुंण्डमुत्तमम् ।
रोवरसमं पुण्डयंसत्सेवं पापनाशकम ।।८
मृगतिथि मिति ख्यातं सुराणामपि दुर्लभम ।
यस्मिन् कृतेन श्राद्देन पितरो शान्ति सदगतम् ।।९

कालञ्जर भूमि सृष्टिका दृष्टिले र नदीका दृष्टिले मूल मातृ भूमि र गंगा हुन् । ईश्वरीय तथा दैवीय शक्तिका हिसावले पनि यो भूमि शक्ति भूमि नै हुन् । आदि मातृपितृ आदि भूमि कालञ्जर क्षेत्रको अध्यात्मिक र भौतिक दर्शन बिना मनोकाँक्षित फल प्राप्त अप्राप्य छ ।

यस पवित्र भूमिको तल तटभाग र माथिल्लो शिरोभाग गरी मुक्तिनाथ दर्शन गर्न सकिन्छ । अहिले सडक संजालको विस्तारले काली नदीमाताको दर्शन संगै कालञ्जर माता र महादेवको दीव्य दरशन गर्न संभव छ । दर्शनार्थी तीर्थालुहरुका लागि कालञ्जर केन्द्र भूमिको मध्यभूभागतर्फ सडक र यातायातको सहज पहुँच पुग्ने स्थानमा कालीगण्डकी तट वरपर नजिकमा कालञ्जर कालीमाता देवीको शक्ति स्वरुपाको विविध उपासना र आन्तरिक तथा बाह्य पर्यटकका दर्शन लक्ष्यार्थ लागि भब्य र शालीन मन्दिर र श्रद्दालु वासस्थान गृह निर्माण हुनु आवश्यक छ भने कालीगण्डकी तटमा नै संभावित खुला क्षेत्रमा पितृ तर्पण स्थल र सो वरपर कालञ्जर महादेवको पूर्ण कदको प्रतिमा निर्माणको दायित्व र जिम्मेवारी सुम्पेको छ । यो ऐतिहांसिक आवश्यक्तालाई पूरा नगरे भविष्यमा पश्चताप बाहेक अरु छैन । इतिहाँसले सुम्पेको यो दायित्व र जिम्मेवारी पूरा गर्न राज्य र नागरिकको काँधमा आइपरेको छ ।

जय जय कालञ्जर माता ।। जय जय महादेव ।।। जय शिव शैल ।।।।
लेखक– अधिवक्ता यज्ञ बहादुर थापा ।