नेपाल—चीन संयन्त्र बैठकमा रेल र सडक सञ्जालबारे छलफल

567
views

काठमाण्डौ । नेपाल—चीन परामर्श संयन्त्रको बैठक मंगलबार काठमाडौंमा सुरु भएको छ । बैठकमा नेपाली पक्षको प्रतिनिधित्व परराष्ट्रसचिव शंकरदास बैरागीले गरेका छन् । चिनियाँ पक्षको नेतृत्व कोङ झ्याउले गरेका छन् । संयन्त्र बैठकमा २०७२ चैतमा चीनसँग भएको पारवहन र यातायात लगायत सम्झौताको प्रोटोकललगायत सबै पक्षको समीक्षा हुनेछ ।
नेपाल र चीनबीच पटक–पटक प्रस्तावित भएर पनि संयन्त्रको बैठक स्थगित हुँदै आएको थियो । संयन्त्र बैठकबारे नेपालले आग्रह गरे पनि चीनले पछि सार्दै आएको थियो । नेपालको उच्च राजनीतिक तहबाट भने चीनसँगको बैठकबारे चासो देखाइएको थिएन । गत वर्ष भएका सम्झौतालाई अघि बढाउने विषयमा चीन विश्वसस्त हुन नसक्दा बैठकको माहोल तयार हुन सकेको थिएन ।
चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबर) मा नेपालले हस्ताक्षर गरिसकेको सन्दर्भमा संयन्त्र बैठक हुन लागेको हो । काठमाडौंबारे चासो राख्ने चिनियाँ थिङ्क ट्याङ्कहरुले नेपालले चीनसँगका सम्झौता अघि बढाउन तत्परता नदेखाएको आरोप लगाउँदै आएका छन्। नेपालको राजनीतिक घटनाक्रम, राजनीतिक दलहरूको गतिविधि र अन्तर्रा्ष्ट्रिय सम्बन्धलाई चीनले आफ्ना ‘थिंक ट्यांक’ मार्फत नियाल्ने गरेको छ।
नेपालले गत वर्ष भएको सम्झौता कार्यान्वयनमा खासै काम नगरेको चिनियाँ थिंक ट्यांकहरूको आरोप छ । नेपाल सरकारले यस्तो आरोपको खण्डन गरेको छैन ।