डि.एन.ए. परिक्षणले मात्रै पौडेलको भनिएको शवको पहिचान हुने

704
views

पर्वत, ७, असार । बाग्लुङ्गको जैमिनी गाउँपालिकाको बेल बगरमा फेला परेको शब पर्वतबाट हराएका शिक्षक नारायण पौडेलको हो वा अरु कसैको हो भन्ने बारेमा डि.एन.ए. परिक्षणपछि मात्रै पहिचान हुने भएको छ । कालीगण्डकी किनारमा फेला परेको उक्त शव सडेगलेको अवस्था र शरिर नाङगो रहेकोले पौडेलकै हो भन्न नसकिएको हुँदा डि.एन.ए. परिक्षणपछि मात्रै पहिचान गर्न सकिने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनालले बताएका छन् । खनालले शवको घाँटीमा भएको मालाको अधारमा आफन्तले शव पौडेलकै हुनसक्ने आशंका र केही आधार देखिएपछि शव ल्याइएको हुँदा डि.एन.ए. पछि मात्रै एकिन हुने बताए ।
कुश्मा नगरपालिका १ पाङ घर भई कटुवा चौपारी स्थित आईबल एकेडेमी बोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेल बेपत्ता भएको १५ दिन भइसकेको र वेलवगरमा उक्त शव भेटिएकोले आशंका बढेको हो । शिक्षक पौडेल विगत १ महिना अगाडीबाट मात्रै विद्यालयमा पढाउन सुरु गरेका थिए । विद्यालयमा विद्यार्थीलाई यातना दिएको भन्दै विद्यालय प्रशासनले विद्यालय नआउन भनेका पौडेल एकाएक हराएपछि घटना रहस्यमय बनेको थियो ।
गत जेठ २४ गतेदेखि वेपत्ता भएका शिक्षक पौडेल अन्तिम पटक २५ गतेसम्म परिवारको सम्पर्कमा रहेको भएपनि त्यपछि उनी सम्पर्क बिहिन बनेका थिए । २७ गतेदेखि प्रहरीमा परेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले खोजीकार्य बढाएको थियो । उक्त शवको पहिचानाका लागि डि.एन.ए. एकमात्र विकल्प देखिएको छ । वैज्ञानिक रुपमा डि.एन.ए. परिक्षणको रिर्पोटलाई प्रमाणको आधार मानिदै आएकोले उक्त शवको परिक्षणपछि मात्रै पहिचान हुने भएको हो ।