एमालेको टिकट दिने रणनीतिले एमालेमा प्रवेशको लहर

689
views

काठमाण्डौ, ७ असार । नेकपा एमालेले चुनावको मुखैमा मधेसबाटै थुप्रै नेता–कार्यकर्ता भित्र्याएको छ । प्रतिपक्षी दल एमालेले विभिन्न पार्टीबाट मधेसी नेताहरूलाई प्रवेश गराउँदै टिकट दिने रणनीति बनाएकाले अन्य दलका कार्यकर्तादेखि केन्द्रीय नेतासम्म एमाले प्रवेश गरिरहेका छन् ।
गत फागुनमा एकैचोटि २० जना मधेसी समुदायका नेतालाई एमालेले केन्द्रीय समितिमा ल्याएको थियो । स्थानीय तह अन्र्तगत दोस्रो चरणमा तीनवटा प्रदेशमा निर्वाचन हुन लागेको पूर्वसन्ध्यामा यसै हप्ता राष्ट्रिय जनता पार्टी (राजपा) को केन्द्रीय कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ नेकपा एमालेमा प्रवेश गरे । यादव र महासेठ दुवै मधेसमा राम्रो पकड बनाएका नेता मानिन्छन् ।
यसैगरी, राजपाका सहमहामन्त्री समिम मियाँ अन्सारी पनि गत जेठ १३ गते एमाले प्रवेश गरिसकेका छन् ।
आइतबार सिराहामै पूर्वसांसद पारोदेवी यादव र उनका छोरा माओवादी केन्द्रका नेता डा.नवीन यादव सहितको समूह पनि एमाले प्रवेश गरेको छ । एमालेबाटै माओवादी प्रवेश गरेका प्राज्ञ तथा साहित्यकार रमेशरञ्जन झा पनि फेरि एमाले प्रवेश गरेका छन् । उनी पछिल्लो समयमा माओवादी छाडेर डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आबद्ध थिए ।
सङ्घीय समाजवादी फोरम नेपाल परित्याग गरेका सुखराम यादव पनि नेकपा एमालेमा प्रवेश गरेका छन् । यादवसँगै राजपाका स्थानीय नेता सुरेश सिंह, हेमशंकर सिंहलगायतलाई एमाले राजविराज नगर कमिटिले प्रवेश गरायो ।
वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको भातृ संगठन मधेसी मुक्ति मोर्चाका केन्द्रयी सदस्य अनिल सिंह पनि एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी क्रान्तिकारीका जिल्ला सदस्य समेत रहेका उनी सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् । नेपाली कांग्रेस धरानका पूर्व उपाध्यक्ष धनबहादुर राई पनि एमालेमा प्रवेश गरेका छन् । राईसंगै काग्रेसकै कृष्ण परियार पनि यो साता नै एमाले प्रवेश गरेकी छन् । राजविराजमा राजपाकै केन्द्रीय सदस्यहरूसहित दर्जनौँ कार्यकर्ता अघिल्लो साता एमालेमा प्रवेश गरेका थिए । राजपाका केन्द्रीय सदस्यद्वय सुरेश सिंह, लाल मोहम्मद, दलित जनजाती पार्टीकी केन्द्रीय सदस्य पारोदेवी खंग, फोरम नेपालका प्रदेश सदस्य सुखराम यादव, तत्कालीन नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य हेमशंकर सिंहलगायतले प्रवेश गरेका हुन् ।
त्यसैगरी नेपाली कांग्रेसका बालेश्वर मिश्र, कुन्ती मिश्र, मो. तफेजुल, माओवादी केन्द्रका हजरत अली, गंगाराम मण्डल, मालेका मुख्तार अंसारी, नेमकिपाका गणेशी साह, पूर्व सहायक वन अधिकृत विशेश्वर दास, ऐशा खातुन, बेचनी खंग, सजना चौधरी, बबीता मण्डल, बेबी कर्ण, सतिश साह, रामप्रसाद शर्मा, राजपाका ललित मण्डल, अशोक मण्डल, मिश्रीलाल यादव, लाल मियाँ, हिरालाल मण्डल, रघुनन्दन मण्डल पनि एमालेमा प्रवेश गरेबा छन् ।
यसैगरी सिराहाको लाहानमा केही समयअघि लाहानका पूर्वमेयर मुन्नी साह आफ्ना सहयोगीहरूसहित माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए ।