नरायणगढ–मुग्लिन सडकको पहिरो हटाईयो

761
views

चितवन । निर्माणधीन नारायणगढ मुग्लिन सडक खण्डमा शनिबार राति ठाउँ ठाउँमा आएको पहिरो हटाएपछि सावरीसाधन चल्न थालेका छन् । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार बिहान आठ बजेपछि सो सडकमा पहिरो हटाएर गाडी चल्न सुरु भएको हो । नारायणगढ मुग्लिन सडक खण्डको कालिखोला, टोपो खोला र चार किलोमा हिजो राति आठ बजे पहिरो गएको उनले जानकारी दिए ।
सो क्षेत्रममा बिहीबार राति मात्रै पहिरो गएर प्रहरीको भ्यानसमेत पुरिएको थियो । प्रहरीको भ्यान र त्यसमा रहेका चारजनामध्ये दुईजना प्रहरी हराइ रहेका छन् । दुईजना प्रहरीको शब फेला परेको थियो । त्यो दिन बन्द यातायात २० घण्टापछि मात्रै खुलेको थियो ।
नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरु भएको छ । सडक फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा नै पहिरो गएर दुख दिने गरेको हो । राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पुर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गको रुपमा रहेको सो सडक खण्डमा दिनहँु १० हजारसम्म गाडीहरु ओहर दोहर गर्छन् ।
सो सडक जम्मा ३६ किलो मिटर लामो छ। जसमध्ये ३३ किलो मिटरमा मात्रै विस्तारको काम भएको छ । विस्तारको काम सुस्त छ। सडक निर्माणको लागि सन् २०१५ को अप्रिलमा सम्झौता भएको थियो । सम्झौता भएको दुई वर्ष्भित्र काम सक्ने सर्त हो ।