चुनावपछि संविधान संशोधन गर्ने सहमति भएको छ-नेपाल

788
views

काठमाण्डौ, ११ असार । स्थानीय तहको निर्वाचनपछि संबिधान संशोधन हुने शीर्ष तीन दल र राष्ट्रिय जनता पार्टीबीच सहमति भएको एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले खुलाएका छन् । विराटनगरमा आइतबार पत्रकारसँग कुरा गर्दै नेता नेपालले स्थानीय तहको तीनै चरणको निर्वाचन सकिएपछि शिर्ष तीन दल र राष्ट्रिय जनता पार्टीबीच छलफल भएर संविधान संशोधन हुने खुलाएका हुन् ।
नेता नेपालले स्थानीय तहको तेस्रो चरणको निर्वाचन राजपाको माग नभएको बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी हार्ने र २ नम्बर प्रदेशमा कांग्रेसको खस्किदो अवस्था, माओवादी केन्द्रले गतिलो काम गर्न नसकेकोले जनताको बीचमा कुन मुख लिएर जाने भनेर असोज २ गते निर्वाचन मिति सारेको नेता नेपालको भनाई थियो । उनले काँग्रेस र माओवादीले चुनावको मिति सारेको तर राजपाको माग र अवरोध नभएको जिकिर गरे ।
उनले संबिधान संशोधन बिना नै राजपा पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुने दाबी गरे । ‘निर्वाचनमा सहभागि गराउन सबै मिलेर राजपालाई कन्भिन्स गर्नुपर्छ र यो सबैको दायित्व पनि हो,’ उनले भने, ‘आफू लोकतान्त्रिक पार्टीको भन्ने र सर्तबन्दी गरेर आफ्नो माग पूरा नभएपछि चुनावमा भाग नलिने जस्तो अलोकतान्त्रिक चरित्र देखाउन मिल्छ ?’ ‘यसरी नै भोली गएर राप्रपाले पनि हिन्दु राष्ट्र नभएसम्म चुनावमा भाग नलिने माग तेर्सायो भने के गर्ने ?’,नेता नेपालको प्रश्न थियो ।