पाकिस्तानमा तेल ट्यांकरमा आगलागी, कम्तीमा १२३ जनाको मृत्यु

684
views

पाकिस्तानमा तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु भएको छ । पाकिस्तानको एक सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीकाअनुसार बहावपुर सहरमा तेल ट्यांकर पल्टिएर भएको आगलागीमा १२३ जनाको मृत्यु भएको हो । दुर्घटनामा ७५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको सहरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ ।
पाकिस्तानी अनलाइन डनका अनुसार ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न झुम्मिएका स्थानीयहरु आगलागीमा परेका छन् । ट्यांकरबाट तेल चुहिएको खबरपछि ठूलो संख्यामा महिला र बालबालिका तेल जम्मा गर्न गर्न पुगेका थिए । दुर्घटनामा ६ वटा कार र १२ वटा मोटरसाइकल जलेका छन् ।
आगलागीमा मृत्यु भएकाहरुको अनुहार चिन्न सकिंदैन । उनीहरुको डीएनए परीक्षणको तयारी भइरहेको बीबीसीले जनाएको छ ।