मत खसालेपछि प्रधानमन्त्री देउवा हर्षित

679
views

डडेल्धुरा, १४ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मत खसालेपछि प्रधानमन्त्री शेरबहादुर देउवा निकै खुशी देखिएका छन् । उनले मतदान केन्द्रमा जम्मा भएका आफ्ना शुभेच्छुक, मतदाता र कर्मचारीलाई नमस्ते फर्काउँदै भने, ‘मत हाल्ने भनेको विवेक प्रयोग गर्नु हो । निर्वाचन बेला बेला भइरहनु पर्छ ।’
गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुअघि पनि उनले स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै ‘हामीले बीचमा विभिन्न कारणले स्थानीय निर्वाचन गर्न सकेनौं, ढिलो भए पनि अब संघीय संरचनामा स्थानीय सरकार बनेका छन् । राम्रो हुन्छ।’
यसपटक गृहजिल्ला डेडेलल्धुराका धेरै स्थानमा कांग्रेसका बागी उम्मेदवारहरु उठेकाले पनि उनलाई यता आउनुपर्ने दवाव थियो । एक त प्रतिष्ठा र अर्को सुदुरपश्चिमका स्थानीय नेताहरुसँग उनीहरुकै गाउँ–ठाउँमा

भेट्ने योजना देउवाले बनाएका थिए । प्रधानमन्त्री देउवासँग रहेकी देउवा पत्नी आरजु देउवाले पनि असिग्राम उच्च माविको मतदान केन्द्रमा मत खसालेकी छिन् ।यो मतदान केन्द्र जिल्ला सदरमुकामदेखि २१ किमी दक्षिण पूर्वमा रहेको छ । मतदान केन्द्र रहेको यही विद्यालयमा देउवाले कक्षा ५ सम्म अध्ययन गरेका थिए ।