पचास लाख बजेटमा कोल्ड स्टोर निर्माण

930
views

नवदृष्टि संवाददाता
१८, पर्वत, असार । पातिचौरमा धौलागिरी अञ्चलकै एकमात्र कोल्ड स्टोर निर्माण गरिएको छ । पचास लाख रुपैयाँ बजेटमा कोल्ड स्टोर निर्माण गर्न लागिएको समितिले जनाएको छ । प्रचण्ड नेतृत्व सरकारले कोल्डस्टोर निर्माणका लागि उक्त रकम विनियोजन गरेको थियो । मुख्यत आलु, सुन्तला, स्याउ लगायतका फलफुलहरुको भण्डारणका लागि कोल्ड स्टोर भवन निर्माण गर्न लागिएको हो । उक्त कोल्ड स्टोर निर्माण कार्य सम्पन्न हुँदा धौलागिरीका सबै जिल्लाका कृषकहरु समेत लाभान्वित हुनेछन् भने मुस्ताङमा उत्पादीत स्याउ, आलु लगायतका तरकारी, फुलदेखी म्याग्दी, बागलुङ, पर्वत लगायतका पहाडी भू–भागमा उत्पादीत तरकारी एवं फलफुलहरुको भण्डारण गर्न सकिने निर्माणाधिन पातिचौर खाद्यान्न सीप भण्डार समितिकी अध्यक्ष गंगा तिमिल्सिनाको भनाई छ । नेपाल सरकारको लगानीमा निर्माण कार्य भैरहेको सो कोल्ड स्टोरको रकम फ्रिज जानसक्ने सम्भावना समेत बढेको छ । कोल्ड स्टोर निर्माणका कामहरुमा प्राविधिक कठिनाई देखी विभिन्न राजनीतिक दलहरुको स्वार्थका कारण असफल गराउने प्रयासहरु भैरहेकोले समयमा नै सम्पन्न गर्न नसक्दा केही रकम फ्रिज जाने सम्भावना देखिएको समितिको भनाई छ । धौलागिरीको नाका क्षेत्र पातिचौरमा निर्माण भैरहेको उक्त कोल्ड स्टोर सम्पन्न गर्न पाँच करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको तिमिल्सिना बताउँछिन् ।

निर्माणधिन कोल्ड स्टोर आधुनिक हुनुपर्ने भएपनि लागत स्टिमेट भने आधुनिक कोल्ड स्टोरको नभएको स्थानीयको भनाई छ । स्थानीय शुरेन्द्र जंग लामिछानेका अनुसार ईन्जिनियरको कमीकम्जोरीका कारण उक्त कोल्ड स्टोर आधुनिक प्रकारको बन्न नसकेको लामिछानेको भनाई छ । दुवैको डि.आई.पी.मा रहेको ग्लोबल सिपिङ लोजिष्टक कम्पनीमा भएको कोल्ड स्टोर र यहाँ निर्माण भैरहेको कोल्ड स्टोमा भिन्नता रहेको सोही कम्पनीको कोल्ड स्टोरमा लामो समय काम गरेका लामिछानेले बताए । समितिले जागरुकता र चासोका साथ काम गर्दागर्दै पनि सम्बन्धित कार्यालयबाटै निर्माण चरणमा ढिलाई हुँदा रकम फ्रिज जाने सम्भावना बढको स्थानीयको भनाई छ ।
निर्माण अवस्थाको कोल्ड स्टोर ५२ फुट लम्वाई, २४ फुट चौडाई र ९.५० फुट उचाईमा रहेको छ । भवन निर्माण कार्य सम्पन्न भएपछि कोल्ड स्टोरका लागि स्थानीय सरकार र केन्द्रिय सरकारले झण्डै पाँच करोड रकम विनियोजन गर्दा कोल्ड स्टोरका लागि आवश्यक सम्पूर्ण आधुनिक सामानहरु राख्न सकिने अनुमान गरिएको अध्यक्ष गंगा तिमिल्सिनाले बताईन् । कोल्ड स्टोर निर्माण पूर्व जग्गा समेतको सम्झौता भई काम थालिएको थियो ।