नगरपालिकाको ढल अग्लोपुलतर्फ सोझ्याएपछि सर्वसाधारण आक्रोषित, कुश्मा–ज्ञादी जोड्ने नेपालकै अग्लो पुल भासिने खतरा–स्थानीयवासी

835
views

विकासराज पौडेल
पर्वत, १८, पर्वत । कुश्मानगरपालिकाबाट खोलोजस्तै बग्ने ढलको उचित व्यवस्थापन नगरी कुश्मा–ज्ञादी जोड्ने नेपालकै पहिलो र अग्लो झोलुङ्गे पुलतर्फ फ्याँकिदिएपछि झोलुङ्गे पुल जीर्ण हुने भन्दै ढल व्यवस्थापनको विषयलाई लिएर स्थानीयवासी आक्रोषित बनेका छन् ।
कुश्मानगरपालिकाको संकलित ढल व्यवस्थापनका नाममा अग्लो पुलतर्फ सोझ्याईदिएपछि पुलको बडगाउँतर्फको केही भाग भासिएकोले कुनैबेला जोखिम बढ्नेतर्फ संकेत गर्दै स्थानीयवासीहरु आक्रोषित बनेका हुन् । स्थानीयले ढल व्यवस्थापन गर्ने निकायलाई यसतर्फ खेलवाड नगरी सजग हुन आग्रह गर्दै ढल व्यवस्थापन सम्बन्धि वेवास्था गरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
नेपालकै अग्लो कुश्मा–ज्ञाँदी झोलुङ्गे पुल निर्माण समितिका तात्कालिन अध्यक्ष शिव शर्मा पौडेलले ढल व्यवस्थापनका नाउँमा पुल जीर्ण बनाउने कार्य नगर्न आग्रह गरेका छन् । पर्वत पर्यटन प्रर्वद्धन केन्द्रका अध्यक्ष समेत रहेका उनले विना जानकारी नियम विपरीत गरेको उक्त काम रोक्नुर्ने बताए ।

जिल्ला विकास समिति पर्वतका पूर्व उपसभापति समेत रहेका स्थानीयवासी रामशर्मा पौडेलले ढल व्यवस्थापन गर्दा नियमको दायरामा रहेर काम गर्नुपर्ने भन्दै उक्त काम गर्ने ईन्जिनियर सचेत हुनुपर्ने बताए । शर्माले भने ‘पुलको १०० मिटर वरपर ढल फाल्न नपाइने नियम भएतापनि नगरपालिकाको सम्पूर्ण ढल नियन्त्रणका लागि पुल वरपर फालेपछि जमिन भासिने सम्भावना रहन्छ ।’
ढल नियन्त्रण गर्दा नियम र मापदण्डमा रहनुपर्ने भन्दै स्थानीयले मापदण्ड विपरीत काम गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्ने समेतको आक्रोष व्यक्त गरेका छन् । पर्यटक आर्कषण, पर्वतको गौरवका साथै ऐतिहासिक नेपालकै अग्लो पुलको १०० मिटर वरपरको स्थान ढल नियन्त्रण गर्ने ठाउँ नभएकोले संरक्षणमा ध्यान दिनुपर्ने स्थानीयको भनाई छ । कुश्मानगरपालिकाको कार्यालयले पुल क्षेत्रबाट ढल निकास गरेपछि स्थानीयमा आक्रोष पैदा भएको हो । नगरपालिकाले गरेको ढल नियन्त्रणमा स्थानीयले आक्रोष व्यक्त गरेपछि मोटो रकम खर्चेर निर्माण गरेको नाली त्यसै छाडिदिने वा निर्माण कार्य सम्पन्न गर्ने अन्यौलता सिर्जना भएको छ ।