विकासराज पौडेल
पर्वत, १८, पर्वत । कुश्मानगरपालिकाबाट खोलोजस्तै बग्ने ढल नेपालकै अग्लो पुलतर्फ फालेर उत्पन्न विरोध र पुल भागको जमिन भासिदै गएकोले आईतवार नाली पुरिएको छ ।कुश्मा–ज्ञादी जोड्ने नेपालकै पहिलो र अग्लो झोलुङ्गे पुलतर्फ फालिएको ढल व्यवस्थापनको नाली डोजर लगाएर पुरिएको स्थानीयले बताएका छन् । पुलको भागतर्फबाट नाली फाल्दा जीर्ण हुने भन्दै ढल व्यवस्थापनको विषयलाई लिएर स्थानीयवासी आक्रोषित बनेपछि त्यसतर्फ सजगता अपनाइएको हो । कुश्मानगरपालिकाको संकलित ढल व्यवस्थापनका नाममा अग्लो पुलतर्फ सोझ्याईदिएपछि शनिवार रातीको बर्षाका कारण पुलको बडगाउँतर्फको जमिन भासिनेक्रम बढेको थियो । नाली व्यवस्थापनका लागि दुरसञ्चारदेखी ज्ञादी जाने अग्लो झो.पु नाली तथा कालोपत्रे निर्माण समितिसँग ५७ लाख रुपैयाँको सम्झौता गरिएको कुश्मा नगरपालिकाका सुचना अधिकृत लाल प्रसाद पाध्याले जानकारी दिनुभयो । नगरपालिकाले नियम र मापदण्ड विपरीतपुलतिर ढल सोझ्याउँदा पुलको भाग भासिएपछि नगरपालिकाका प्रमुख मार्फत निर्माण समितिलाई तत्काल काम रोक्न लगाईएको नेपालकै अग्लो कुश्मा–ज्ञाँदी झोलुङ्गे पुल निर्माण समितिका तात्कालिन अध्यक्ष शिव शर्मा पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो ‘‘नगरपालिकाले कानुनी मापदण्ड विपरीत उक्त काम गरेपछि स्थानीवासीको चौतफी विरोध आयो, हामीले पनि दबाब सिर्जना ग¥यौं, त्यसपछि मात्र नगरपालिका सहित निर्माण समिति काम रोक्न बाद्य भयो ।’’दुरसञ्चारदेखी ज्ञादी जाने अग्लो झो.पु नाली तथा कालोपत्रे निर्माण समितिका अध्यक्ष साजन कुमार श्रेष्ठले नाली बनाएपछि पुलको भाग भासिनु भन्दापनि पहिले नै भासिएको र नाली बनाएपछि झन भासिदै गएकोले नाली पुरेको बताउनुभयो । झोलुङ्गे पुलतर्फ नालीको व्यवस्थापन गरेपछि उत्पन्न विवादसँगै जमिन भासिएपछि नाली बनाउँदा र पुर्दा लागेको खर्च अनर्थमा गएको ईन्जिनियर आषिश शाक्यको भनाई छ । शाक्यले पुलतर्फको नाली हटाएर पुन वैकल्पिक ठाउँबाट नाली व्यवस्थापन गर्ने समेत जानकारी दिनुभयो । नगरपालिकासँग निर्माण समितिले सम्झौता गरेको ५८ लाख रुपैयाँबाट निर्माण भएको उक्त नाली निर्माण गर्दा र पुर्दा लागेको खर्च अनावश्यक भएको टिप्पणी उठ्न थालेको छ ।