भारतीय दूतावासले एउटै दल बनाइदिएको उपेन्द्र यादवको खुलासा, राजपा भित्र झगडा

656
views

काठमाडौं, २१ असार । चुनावमा जानु पर्ने र चुनाव बहिस्कार गर्नु पर्ने पक्षमा बाँडिएका संघीय समाजवादी फोरम र राजपाले एक–अर्काभण्डाफोर गर्ने घोषणा गरिरहेका छन् । यस्तो घोषणा गरिरहेका बेला विगतमा विभिन्न छ वटा समुहमा रहेका मधेसकेन्द्रित दलहरुलाई भारतीय दूतावासले एउटै दल बनाइदिएको यसअघि नै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले खुलासा गरिसकेका छन् । आन्दोलनको औचित्य पुष्टि गर्न नसक्दा चुनावबाट समेत भाग्दै आएको राजपा एकीकरणको केही महिना नपुग्दै फूटको संघारमा पुगेको छ । स्थानीय तहको चुनाव बहिस्कार गर्ने निर्णय गरे पनि कार्यकर्ताले विद्रोह गरी उम्मेदवारी दिएपछि चुनाव बहिस्कारको निर्णय ठीक कि बेठीक भन्ने विवादले राजपा विभाजनको संघारमा पुगेको हो । राजनीतिक रुपमा दिशाहीन भएका कारण उत्पन्न समस्या ब्यक्तिगत तनावमा पुगेर टुंगिने देखिएको हो । राजपा अध्यक्ष मण्डलको बैठक भारतीय दूतावासमा हुँदै आएपछि यसले झन् पुष्टि पाएको छ । नेपालको राजनीतिलाई आफू अनुकुल बनाउने एउटा दलको रुपमा राजपालाई उभ्याउन खोजेपछि जनसमर्थन विनाको राजपा भारतीय पुठले मात्रै दलको रुपमा गणनामा आइरहेको छ । सरकारले निर्वाचन सार्नु परे र भारतले चाहे अनुसारको निर्णय गर्नु परे राजपालाई नै निहुँ बनाएर गर्दै आएको छ । भारतीय राजदूत स्वयंले राजपा र वर्तमान सत्ता गठबन्धन एउटै उद्धेश्यले बनाइएको वताउँदै राजपा नेताहरुलाई निर्देशन दिंदै आइरहेका छन् ।
यसपटक मधेसमा आफ्ना सशक्त प्रतिद्वन्द्विहरु उपेन्द्र यादब र विजय गच्छदारको दलले निर्वाचनमा भाग लिए । उनीहरुले स्थानीय तहमा सफलता पनि पाए । त्यसले पनि राजपाका नेताहरुमा छटपटी बढेको छ ।
चुनाव बहिस्कारले जनसमर्थनमा आएको क्षतिले उनीहरुलाई अव फेरि पुरानै समुहहरु ब्यूँताउने तयारीमा लाग्न थालेका छन् । पछिल्लो पटक पदाधिकारी तहमै रहेका नेताहरुले समेत पार्टी छाड्दै हिंडेपछि पार्टी भित्रको मर्यादाक्रमका विषयमा झगडा गरी आ–आफ्नो समुह ब्यूँताउने तयारीमा उनीहरु देखिएका हुन् । यस क्रममा उनीहरुबीच चर्काे आरोप प्रत्यारोप समेत चलिरहेको छ ।
तमलोपाका पूर्व नेता तथा राजपा नेता हृदयश त्रिपाठीले राजपा फेरि अलग अलग पार्टीमै विभाजित हुने संकेत गरेका छन् । त्रिपाठीले वरियताको कुरा झिकेर पार्टी भाँड्न खोजेको भन्दै राजपा अध्यक्ष मण्डलका एकजना सदस्य अनील झाले त्यसको भण्डाफोर गर्ने वताएका छन् । त्रिपाठीले महन्थ ठाकुर, विजय गच्छदार, उपेन्द्र यादब र शरदसिंह भण्डारीबाहेक राजपाका अरु सबै नेता आफू भन्दा कनिष्ठ भएको तथा राजेन्द्र महतो र महेन्द्र राय त आफ्नो सहायक नै भएको र अनील झा आफ्ना विद्यार्थी भएको बताएपछि राजपाभित्र त्यसले ठूलो खैलाबैला मच्चाएको छ ।
त्रिपाठीको यस्तो भनाइ बाहिर आएपछि अन्य नेताहरुले हृदेशले राजपामा वरियताको विवाद झिकेर हिजोको तमलोपालाई राजपा गठबन्धनबाट वाहिर ल्याउने र आफू महन्थपछि पार्टीमा हर्ताकर्ता बन्ने योजना बनाईरहेको आरोप लगाएका छन् । उनीहरुले ६ वटा पार्टीहरुलाई फेरि अलग गराउने हृदयशको षडयन्त्रको भण्डाफोर गर्ने वताए ।
हृदेशको सो भनाईबाट सबैभन्दा बढी अनील झा आक्रोशित भएका छन् । त्रिपाठीको अन्तर्वार्ता पढेपछि झाले उनको सार्वजनिक रुपमै भण्डाफोर गरिदिने बताउन थालेका छन् । झाले आफू कहिल्यै पनि त्रिपाठीको विद्यार्थी नभएको प्रष्ट्याउदै कार्यकर्तालाई भने– ‘०४६ सालको आन्दोलनमा म गजेन्द्रबाबुको कार्यकर्ता भएर आन्दोलनमा होमिएको बेला त्रिपाठी कतै विदेशमा डुलिरहेका थिए । उनी ०४८ पछि राजनीतिमा लागेका हुन् । मैले अमृत साइन्स क्याम्पसमा पढेको हुँ । के त्रिपाठी साइन्सका टिचर भएर त्यहाँ पढाउथे ? म उनको विद्यार्थी कसरी भएँ ? त्रिपाठीले राजनीति र दर्शनशास्त्रमा बीए पढेका हुन् । उनी कहिले मेरो गुरु भए ? उनी न त विद्यार्थी आन्दोलन न त राजनीतिमै मेरा गुरु हुन् । राजेन्द्र महतोको पार्टीमा उनी राजेन्द्रको सहायक भएर बसेको बेला म आनन्दीदेबीले नेतृत्व गरेको सदभावना पार्टीमा नेता थिएँ । मैले छुट्टै पार्टी बनाएर अध्यक्ष भएर संसदमा दलको प्रतिनिधित्व गरिसकेको छु । त्रिपाठीले त्यो मेरा लागि गरिदिएका हुन् र ?’
अनीलले राजेन्द्र महतो र हृदेश जस्ता नितान्त व्यक्तिगत स्वार्थमा लाग्ने ब्यक्तिहरुकै कारण आफू राजपा गठन गर्ने पक्षमा नरहेको तर उनीहरुले नै विभिन्न शक्ति केन्द्रको दबाब बढाएपछि अन्तिममा राजपामा आएको पनि कार्यकर्तालाई सुनाउन थालेका छन् । ‘यो पार्टी नबन्दै त्रिपाठी जस्ता स्वार्थीहरुले फेरि फुटाउने मलाई लागेको थियो’ झाले कार्यकर्तासँग गुनासो गरेका छन्, ‘मैले नै हृदयशलाई पनि अध्यक्ष मण्डलमा राख्ने माग पहिले पनि गरेको थिएँ । हिजो असार २० गते पनि प्रधानमन्त्री र भारतीय राजदूतसँग महन्थजीले एक्लै भेटेर फर्केपछि पनि राती साढे १० बजेसम्म बसेको बैठकमा मैले नै राजपा अध्यक्ष मण्डलमा अन्य नेताहरु पनि थप्ने प्रस्ताव टाइप गरेको हुँ तर त्रिपाठीले त उल्टै मलाई खुईल्याउँदै म पो उनको विद्यार्थी भनेछन् । यो भन्दा बेइमानी के हुन्छ ? अब म पनि त्रिपाठीलाई नंग्याएरै छाड्छु ।’