काठमाडौँ, २०, कात्तिक । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मतदाता नामावलीमा फोटो सहितको नाम लेखाएका छन् ।

मन्त्री पुनले जिल्ला निर्वाचन कार्यालय नयाँ बानेश्वर पुगेर फोटो सहितको नाम लेखाएका हुन् । पुनले चितवनको राप्ती नगरपालिकास्थित चितवनको वज्रहट्ठी आधारभूत विद्यालय मतदान केन्द्र रहने गरी मतदाता नामावलीमा नाम लेखाएका हुन् ।
मतदाता नामावलीमा नाम लेखाएपछि मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “आहा ! आम चुनावमा भोट दिनका लागि जिन्दगीमा पहिलो चोटि नयाँ बानेश्वर गएर नाम दर्ता गरियो । १८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीलाई अल्छी नगरीकन फागुन २१ गतेको आमचुनावमा भाग लिनका लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु ।”
निर्वाचनमा मतदान गर्न सर्वसाधारणदेखि सार्वजनिक क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिले समेत चासो देखाएका छन् ।










