व्यापारी राजकुमारको हत्या भन्दा पहिले नै रणबहादुरको हत्या भएको खुलासा

788
views

दाङ, २७, असार ।
दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका ठेकेदार रणबहादुर घर्तीमगरको पनि हत्या भएको रहस्य खुलेको छ । गत जेठ २६ गते अपहरणमा परेका तुलसीपुरका व्यापारी श्रेष्ठसँगै रणबहादुर अपहरणमा परेका थिए । व्यापारी श्रेष्ठको हत्या गर्नु अघि नै ठेकेदार रणबहादुरको हत्या गरिएको खुलासा भएको हो । प्रहरीले व्यापारी श्रेष्ठको अपहरण र हत्याका मुख्य योजनाकार तुलसीपुर उपमहानगर- पालिका–६ का ४० वर्षीय ‘निर्मल’ उर्फ टिकाराम घर्ती, उनकी छोरी पूजा र मानबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि ठेकेदार रणबहादुरको पनि हत्या भएको खुलासा भएको प्रहरीले जनाएको छ । प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका घटनाका मुख्य योजनाकार टिकाराम घर्ती मगर र उनकी छोरीले व्यापारी श्रेष्ठभन्दा पहिले ठेकेदार रणबहादुरको हत्या गरेको बयान दिएका छन् । प्रारम्भीक बयानका क्रममा मूख्य योजनाकार भनिएका टिकारामले रकम असुलीका लागि अपहरण र त्यसपछि हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । मुख्य योजनाकार भनिएका टिकाराम, उनकी छोरी पूजासँगै सल्यान झिम्पे–४ का ३५ वर्षीय मनबहादुर भण्डारीलाई प्रहरीले सोमबार राति बाँकेको भारतीय सीमाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
व्यापारी श्रेष्ठको अपहरण र हत्याको घटनामा १४ जना संलग्न पनि पत्ता लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा संलग्न सात जनाको प्रहरीले खोजी गरिरहेको छ । यसअघि प्रहरीले अपहरणपछि व्यापारी श्रेष्ठको हत्यामा संलग्न तुलसीपुर–१२ का २५ वर्षीय ‘कमल’ उर्फ अबिरल महतरा, दाङ घोराही उपमहानगरपालिका–१४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन, तुलसीपुर उपमहानगरपालिका–६, का २३ वर्षीय रुगत थापा मगर र रोल्पा जम्कोट १ घर भई हाल घोराही उपमहानगरपालिका–४, का ४० वर्षीय ‘रमेश’ ऊर्फ मनबहादुर पुनलाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार व्यापारी श्रेष्ठको अपहरण र हत्याको घटनामा १४ जना संलग्न रहेको र पक्राउ पर्न बाँकी सात जनाको खोजीका लागि काठमाडौं र दाङमा प्रहरीको टोली खटिएको छ।
यसअघि गत जेठ २६ गते साँझ अपहरणमा परेका व्यापारी श्रेष्ठको शब असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका–४ झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा ढुंगाले पुरिएको अवस्थामा व्यापारी प्रहरीले फेला पारेको थियो।
प्रहरीले व्यापारी श्रेष्ठको अपहरणमा युवतीको प्रयोग भएको अनुसन्धानबाट पत्ता लगाएको थियो। श्रेष्ठको अपहरण र हत्याका प्रमुख योजनाकार तुलसीपुर–६ का ४० वर्षीय निर्मल ऊर्फ टिकाराम घर्ती मगरले व्यापारी श्रेष्ठको अपहरण गर्न आफ्नी २० वर्षीया छोरी पूजालाई प्रयोग गरेको खुलेको प्रहरीले यसअघि नै जानकारी दिइसकेको थियो। भारतीय नम्बर प्लेटकै कारमा सवार रहेका घोराहीका ठेकेदार रणबहादुरलाई व्यापारी श्रेष्ठको अपहरणमा संलग्न टोलीले सल्यानबाटै अपहरण गरेको थियो ।