पर्वतका तीन शिक्षक अख्तियारको कार्वाहीमा, एक शिक्षकको जागिर चट

840
views

महेन्द्र जिसी
पर्वत, २८, असार । विभिन्न दवाबमा काज सरुवा र सट्टामा राखिएका पर्वतका तीन शिक्षकहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्वाही गरेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार गतवर्ष नियम विपरीत काज सरुवा गरी सट्टामा राखिएका प्रावि तहका शिक्षकहरुलाई अख्तियारले कार्वाही गरेको हो ।
सरस्वती प्रावि आर्थरका गिता कुमारी शर्मा, नवजागृति माविका तानिया भण्डारी क्षेत्रीलाई कार्वाही स्वरुप सरुवा बदर गगरिएको छ भने जनश्रम प्रावि नागलिवाङका शिक्षक ईन्दिरा शर्माको जागिर चट भएको छ ।
स्थानीय शिक्षक हितमान क्षेत्रीको सटटामा नियम विपरीत अध्यापन गराउँदै आउनु भएकी शर्माको जागिर अख्तियारमा उजुरी परेका कारण बर्खास्त गरिएको जिल्ला शिक्षा कार्यालय पर्वतका विद्यालय प्रशासन प्रमुख उद्धिमराज पौडेलले बताउनुभयो ।
विभिन्न दल तथा संघ संगठन मार्फत शिक्षा ऐन विपरित जागिर थमाईएका शिक्षकहरुको जागिर गएको कार्यालयले जनाएको छ । अस्थाई एवं करार शिक्षकको सरुवा नगर्ने विभागको निर्देशन विपरीत काज सरुवा भएका दुई शिक्षकको पनि काज फिर्ता भएको हो ।
काज फिर्ता हुनेमा आर्थरको सरस्वती प्राविका शिक्षक गिता कुमारी शर्मा नव जागृती तिलाहार काज सरुवा भएको थियो भने नव जागृति तिलाहारबाट तानिया भण्डारी छमर्के प्राविमा काज सरुवा गरिएको थियो ।