काठमाण्डौ, ३० असार । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभागृहमा आयोजित काठमाण्डौं महानगरपालिकाको प्रथम नगरसभा उद्घाटन समारोहमा आफ्नो पूर्ववत शैलीमा विकास र राजनीतिका कुरा गरे । समारोहमा बोल्दै उनले आफूले समावेशिता सहितको विकासको कुरा गरेको प्रष्टिकरण दिए ।
मधेसी बुद्धिजिवीसंग बिहीबार भएको अन्तरक्रियामा पनि ओलीले आफूले पुँजीवादी मोडलको नभइ समाजवादी मोडलको विकासको कुरा गरेको दाबी गरेका थिए ।
दूरीले कमजोर बनाउन नसकेको बुद्ध विचार
सभागृहमा ओलीले गौतम बुद्धको सम्झना गर्दै मानव इतिहासमा आजसम्म पनि बुद्धको गुरुत्वाकर्षण र चुम्बकत्वलाई कसैले माथ गर्न नसकेको तर्क गरे । ‘हामी असाधारण विद्वान पुर्खाका सन्तान हौं, २५०० वर्ष अगाडिका बुद्धको गुरुत्वाकर्षण र चुम्बकत्वलाई आजसम्म पनि दूनियाँको अर्को ताकतले हल्लाउन सकेको छैन’, उनले भने,‘दूरीले हरेकलाई कमजोर बनाउँछ, चुम्बकत्व, प्रकाश, ध्वनिलाई दुरीले कमजोर बनाउँछ तर २५०० वर्षको दूरीले पनि बुद्धलाई कमजोर बनाउन सकेको छैन, यसमा वैज्ञानिक कारण खोज्नुपर्ने देखिएको छ ।’ ‘हेर्दा सानो हुन्छ टेबलटेनिसको बल, त्यही टेबलटेनिसको यत्रो सानो बल खेलेर पनि हामी पहिलो हुन नपाउने ?’ उनले भने,‘अक्सिजनबिना नै आठ घण्टामा सगरमाथा चढ्न सक्नेहरुले, यत्रो सभ्यता बनाउनेले जाबो टेबलटेनिसमा पनि पहिलो हुन नपाउनु, उचाल्न नसक्ने पनि होइन, हान्न नसक्ने पनि होइन तर पहिलो हुँदैन ।’
खगोल पत्ता लगाउने विद्वानका सन्तानलार्ई विदेशीले हेपे
रमाईलो पारामा ओलीले नेपालीहरुलाई विदेशीले भिसा दिँदा पनि फर्किन्छौ कि फर्किँदैनौ भनेर सोध्ने गरेको भन्दै नेपालीहरुप्रतिको विश्वासको प्रसंग उठाए । ‘यत्रो खगोल पत्ता लगाउने विद्वानका सन्तान हामीलाई
अहिले विदेशीहरुले भिसा लाउँदा फर्केर आउँछौ कि आउँदैनौ भनेर सोध्छन्’, उनले भने, ‘हामीले सोध्न पाउँ न उनीहरुलाई । नेपाल आउँदा हेरुँहेरुँ लाग्ने हिमाल हाम्रैमा छन्, तिमी फर्किने हौ कि होइनौ, अब हामीलाई होइन उनीहरुलाई हामीले भिसा दिँदा फर्किन्छौ कि फर्किँदैनौ भनेर सोध्न पाउने नेपाल बनाउने हो ।’
विकासमा समावेशिता
ओलीले नेपालमा समावेशिता सहितको विकास हुनुपर्ने आफ्नो भनाइलाई प्रष्ट पार्दै काठमाण्डौं महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई संयुक्त राष्ट्रसंघले २०१५ मा तय गरेको दिगो विकासको लक्ष्यअनुसार विकास गर्न सुझाए । ‘संयुक्त राष्ट्रसंघले सन् २०३० सम्मका लागि तय गरेको दिगो विकासको लक्ष्यमा १७ लक्ष्य, १६९ सहलक्ष्य र पाँचवटा स्तम्भ छन्, तपाइँहरुले पनि त्यही दिगो विकासको लक्ष्यअनुसार नै विकास कार्य अघि बढाउनुपर्छ’, उनले भने ।
एकीकृत विकासमा जोड
उनले निर्वाचित काठमाण्डौं महानगरका जनप्रतिनिधिलाई नगरहरुको एकीकृत विकास गर्न सुझाव दिए । ‘महानगरले वरपरका नगरपालिकाले एक अर्काबीच सहकार्य गरेर नगरहरुको एकीकृत विकासमा ध्यान दिनुपर्ने बताए । ’उनले पर्यटकको कुरा गर्दा वसन्तपुरको मात्र कुरा गरेर नहुने भन्दै ललितपुर र भक्तपुरको पनि चर्चा गर्नुपर्ने बताए । ओलीले अब बन्ने सम्पूर्ण संरचनाहरु अपाङ्गमैत्री बनाउन सुझाव दिए । सार्वजनिक शौचालय समेत अपाङ्गमैत्री हुनुपर्ने ओलीको सुझाव थियो । ओलीले घरघरमा फोहोर र मान्छेका दिमाग (दिमागमा फोहोर भएको खण्डमा बाटो चौडा गरेर मात्र केहि नहुने तर्क समेत गरे ।