गोर्खाल्याण्ड राज्यको समर्थनमा लण्डनमा प्रदर्शन

1472
views

दार्जिलिङ, ३१ असार । दार्जि्लिङ क्षेत्रमा छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै आह्वान गरिएको आम हडताल एक महिना पुग्दा ब्रिटेनमा सो मागको समर्थनमा प्रदर्शनहरु गरिएका छन् । दार्जिलिङ तथा  आसपासका पहाडी इलाकाबाट आएर अहिले ब्रिटेनमा बसोबास गरिरहेका नेपाली भाषी समुदायले भारत सरकारलाई गोर्खाल्याण्डको माग पुरा गर्न आह्वान गरेको छ । ब्रिटेनस्थित नेपाली भाषी समुदायले गोर्खाल्याण्डप्रति समर्थन जनाएका हुन ।शुक्रबार बिहान लण्डनको एल्डविचस्थित भारतीय उच्चायुक्तको कार्यालय बाहिर दार्जिलिङ तथा आसपासका पहाडी इलाकाबाट आएर अहिले ब्रिटेनमा बसोबास गरिरहेका नेपाली भाषी समुदाय भेला भएका थिए। उनीहरुले पश्चिम बङ्गाल राज्य सरकारले नेपाली भाषी समुदायमाथि दमन गरिरहेको भन्दै त्यस्तो दमन रोक्न माग गरिएका प्लेकार्डहरु पनि बोकेका थिए ।
दार्जिलिङ जारी आम हडताल एक महिना पुग्दा पनि भारत सरकारले त्यसको सुनुवाइ नगरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे । युके दार्जिलिङ समाजका अध्यक्ष रोशन गुरुङले भने, ’थिचोमिचो कस्तो छ भने विकासको कुरै नगरे हुन्छ । ब्रिटिशले बनाइदिएको टोय ट्रेनलाई सहयोग छैन। संसार प्रसिद्ध चियापत्तीलाई पनि ध्यान दिइएको छैन ।’ हाल ब्रिटेनको बर्मिङघममा बसोबास गरिरहेकी लता तामाङले हाल चलिरहेको आन्दोलन शान्तिपूर्ण नै हुनुपर्नेमा जोड दिइन्। उनले भनिन् ’हामी सधैं शान्तिपूर्ण आन्दोलन गर्छौं । गोर्खालीहरु शान्तिप्रेमी समुदाय हुन् । हामी जस्तो परिस्थिति पनि स्वीकार्ने र सजिलै रमाउने मानिसहरु हौं ।’ दार्जिलिङमा स्रष्टा र राजनीतिक दलका नेता कार्यकर्ताले समेत सम्मान र पार्टी छोड्न थालेपछि मुख्यमन्त्री ममता बेनर्जी प्रति दवाव बढ्ने ठानिएको छ । करिब एक महिना देखि जारी दार्जिलिङ आन्दोलनमा ७ जना गोर्खाले ज्यान गुमाइसकेको छन भने थुप्रै घाइते भएका छन् ।

स्कुलहरुमा बंगाली भाषा अनिवार्य गर्ने पश्चिम बंगाल सरकारको निर्णय विरुद्ध उत्रेका नेपाली भाषी दार्जिलिङबासीले अहिले छुट्टै गोर्खाल्याण्ड आन्दोलनलाई चकाई रहेका छन् । विरोध कार्यक्रम, बन्द हडताल, भोक हड्ताल लगाएका चरणबाट अघि बढेको दार्जिलिङ आसपासका हिमाली क्षेत्रका नेपाली भाषीको गोर्खाल्याण्ड आन्दोलन अहिले नयाँ चरणमा प्रवेश गरेको छ ।
स्रष्टाले गरे बेनर्जीको सम्मान फिर्ता
आन्दोलनलाई सशक्त बनाउन अहिले त्यहाँका स्रष्टाले पश्चिम बंगाल सरकारले दिएको सम्मान समेत फिर्ता गर्न थालेका छन् । गोर्खाल्याण्डको मागमा राज्य सरकार उदासीन बनेको र पहाडका नेपाली भाषी भारतीय गोर्खालीलाई राज्य सरकारले चरम दमन गरेको भन्दै उनीहरुले शुक्रवार एक सार्वजनिक कार्यक्रममा सम्मान फिर्ता गरेका हुन् ।
राज्य सरकारले विभिन्न समयमा प्रदान गरेको सम्मान फिर्ता गर्ने स्रष्टामा वरिष्ठ संगीतकार कर्म योञ्जन, साहित्यकार कृष्णसिंह मोक्तान र शिक्षक डा. प्रभात प्रधान रहेका छन् । कालिम्पोङका शिक्षाविद डा. नवरत्न प्रधानले पनि राज्य सरकारले दिएको शिक्षा रत्न पुरस्कार फिर्ता गरेका छन् ।

संगीतकार कर्म योञ्जनले सन् २०१६ मा राज्य सरकारकी मुख्यमन्त्री ममता बेनर्जीबाट संगीत पुरस्कार प्राप्त गरेका थिए । साहित्यकार कृष्णसिंह मोक्तानले सन् २००४ मा राज्य सरकारकै तर्फबाट भानुभक्त स्मृति पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै उनलाई राज्य सरकारले नै सन् २०१४ मा बंगरत्न पुरस्कार दिएको थियो ।डा. प्रभात प्रधानले सन् २०१५ मा राज्य सरकारको तर्फबाट शिक्षारत्न पुरस्कार पाएका थिए। स्रष्टा नवरत्न प्रधानले सन् २०१५ मै पाएको शिक्षारत्न पुरस्कार फिर्ता गरेका छन् ।
‘अहिले अलग राज्य गोर्खाल्याण्डको आन्दोलन चलिरहेको छ, तर यस संवैधानिक मागलाई राज्य सरकारले कुल्चने प्रयास गरिरहेको छ’, संगीतकार योञ्जनले भने, ‘हामी प्रत्येक गोर्खाली समुदायलाई गोर्खाल्याण्ड चाहिएको छ। भावी सन्ततीलाई चाहिएको छ ।’
त्यस्तै अर्का स्रष्टा डा. प्रभाव प्रधानले राज्यसरकारले गरिरहेको क्रुर दमन विरुद्ध सम्मान फिर्ता गरको बताए। ‘संवैधानिक अलग राज्य गोर्खाल्याण्डको मागमा आन्दोलन गर्दा पनि राज्यकी मुख्य मन्त्रीलाई गोर्खा जातीलाई आतंकवादीको संज्ञा दिईरहेकी छिन, गोर्खाल्याण्डका आन्दोलनकारीमाथि पुलिसले गोली चलाउँदै छ’, उनले भने,‘ राज्यको यस्तो क्रुर शासनको विरोधमा नै हामीले पश्चिम बंगालबाट पाएका सम्मानहरु फर्काएको हौ ं।’