काभ्रेमा स्मार्ट सिटी बनाउन काठमाडौं विश्वविद्यालयले सघाउने

1859
views

श्रावण २ काभ्रे । काभ्रेका ६ नगरपालिका र अन्य महानगर, उपमहानगरलाई स्मार्ट सिटी बनाउन काठमाडौं विश्वविद्यालयले सघाउने भएको छ । काठमाडौ, ललितपुर महानगरपालिका, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकालाई स्मार्ट सिटी बनाउन विश्वविद्यालयको कम्प्युटर साइन्स एण्ड इञ्जिनियरिङ विभागले ‘स्मार्ट सिटी अनुसन्धान इकाई’ नै खडा गरेको हो । कोरियाको इन्चन नेसनल युनिभर्सिटीसँगको सहकार्यमा इकाईले काम गर्नेछ ।
‘स्मार्ट सिटीको अवधारणा बुझाउने देखि योजना निर्माण र कार्यान्वयनको चरणमा सघाउछौं,’ विभागका प्रमुख मनीष पोखरेलले भने, ‘नगरपालिकाका आवश्यकताबारे अध्ययन अनुसन्धान समेत गर्छौ ।’ पोखरेलका अनुसार, पहिलो चरामा पानी, खानेपानी र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गर्नेछ । ‘सबै हिसाबले स्मार्ट, प्रविधी मैत्री र व्यवस्थित भएपछि मात्रै स्मार्ट सिटी बन्छ,’ पोखरेलले भने, ‘स्मार्ट सिटीका सबै आधारमा काम गर्छौं ।’ विश्वविद्यालयले स्मार्ट सिटी बनाउने काममा आफ्ना प्राध्यापक र विद्यार्थीलाई परिचालन गर्ने जनाएको छ ।