भोक्सिङ खानेपानी आयोजना मर्मतको रकम माओवादी नेताले झ्वाम पारेपछि …

665
views

महेन्द्र जिसी
पर्वत, २, श्रावण । गएको भदौमा सम्पन्न भएको भोक्सिङ खानेपानी आयोजना मर्मतको खर्च नपाएको भन्दै उपभोक्ता समितिले गुनासो गरेका छन । ५९ हजार ९ सय ८१ रुपैयाँको मर्मत खर्च नपाएपछि मजदुर समस्यामा परेको उपभोक्ता समितिले गुनासो गरेको हो ।
नेकपा माओवादी केन्द्र पर्वतबाट केन्द्रीय सदस्य दुर्गा बहादुर तमु ‘विवश’ ले सम्झौता गरेर सम्पन्न आयोजनाको भुक्तानी नदिएपछि उपभोक्ता समिति समस्यामा परेको स्थानीय उपभोक्ता उमा कुमारी गुरुङले बताउनुभयो ।
साक्षर उपभोक्ता समिति अध्यक्ष छविलाल गुरुङलाई फसाएर चेकमा सही गराई आयोजनाको पैसा तमुले अनियमित गरेको गुरुङको आरोप छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसँग रकम भुक्तानी दिलाई दिन माग गर्दै गुरुङले आयोजना सम्पन्न गर्न कार्यालयले राखेको धरौटी समेत फिर्ता नपाएको दावी गर्नुभयो । गाउँका सिधा साधा मानिसलाई बजेट आएको छैन भन्दै टारेर कार्यालय मार्फत भुक्तानी लिएर खर्च गरेको अध्यक्ष गुरुङले बताउनुभयो । गुरुङले मजदुरलाई खाना खुवाएको खर्च समेत दिन नपाएको गनासो पोख्नुभयो । ११ हजार धरौटी र ५९ हजार ९ सय ८१ रुपैयाँ आयोजनाको बजेट दुवै खाएर गाउँ नफर्कीएपछि नेता खोज्न सदरमुकाम आएको गुरुङ दम्पतीले गुनासो गरेका हुन ।
जिल्ला खानेपानी तथा सरसफाई कार्यालयले भने खानेपानीको समस्या देखिएको स्थानमा आवश्यक अनुसार मर्मत गरिएको जनाएको छ । भुक्तानी उपभोक्ताको खातामा राखिदिएकोमा नेताले भुक्याएर लगेका कारण आवश्यक छानविन गर्न जिल्ला प्रशासनमा जानुपर्ने सल्लाह दिएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्वतका प्रमुख पे्रमप्रसाद डोटेलले बताउनु भयो । यता तमुले भने उपभोक्तालाई मर्मत खर्च दिएको बताउँदै आउनु भएको छ । नेता खोज्न तीन जिल्लाको फन्को मारेर सदरमुकाम आएका गुरुङ दम्पतीले सरोकार कार्यालयसँग मजदुरको भुक्तानी गरीदिन आग्रह गरेका छन् ।