काठमाडौँ, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३५औँ स्मृति दिवस विविध कार्यक्रम गरी आज मनाइँदैछ । राणा शासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले विसं २००३ मा कोइरालाको अग्रसरतामा नेपाल राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो । सुवर्णशम्शेरलगायत राणा परिवारबाटै विद्रोह गरी विसं २००५ मा स्थापना भएको नेपाली प्रजातन्त्र काँग्रेससँग २००६ साल चैत २६ गते एकता भएपछि सशस्त्र क्रान्तिको घोषणा भयो ।
यही क्रान्तिले विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना ग¥यो । यसपछि बनेको राणा काँग्रेस सरकारमा कोइराला गृहमन्त्री बन्नुभयो । विसं २०१५ मा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । कोइरालाको जननिर्वाचित सरकारले १८ महिना पनि बिताउन नपाउँदै तत्कालीन राजा महेन्द्रबाट सेनाको शक्तिका भरमा सत्ताच्युत गरी कोइरालालगायत नेतालाई कारागार हालियो ।
विसं २०१७ पुस १ गते जननिर्वाचित प्रधानमन्त्री कोइराला, संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंहलगायत नेतालाई केही महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइयो । उहाँ २०१७ सालपछिं आठ वर्ष र पछि ०३३ सालमा दुई वर्ष कारागारमा रहनुपरेको थियो । विसं १९९२ मा ‘चन्द्रवदन’ कथामार्फत मनोविश्लेषणवादी साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका कोइरालाको दोषी चश्मा कथासङ्ग्रह लगायत कृति प्रकाशित छन् । सुन्दरीजल बन्दीगृहमा एक दर्जन बढी साहित्यिक कृतिको रचना गर्नुभयो । बिपीले कारागारमा रचना गर्नुभएका साहित्यिक कृतिमा ‘श्वेतभैरवी’ कथासङ्ग्रह तथा ‘नरेन्द्र दाइ’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘बाबु,आमा र छोरा’, ‘मोदी आइन’ र ‘हिटलर र यहुदी’ उपन्यास तथा ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘आत्मवृत्तान्त’ आत्मजीवनीलगायत छन् ।
बिपीले प्रजातन्त्र स्थापना र पुनःस्थापनामा पु¥याउनुभएको योगदान, जेल जीवनलगायत विषयमा उहाँसँग गरिएको कुराकानीमा आधारित ‘आत्मवृतान्त’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई भारत निर्वासनबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगेपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ लगायत पुस्तक पनि प्रसिद्ध छन् ।
कोइरालालाई विसं २०२५ मा सुन्दरीजल बन्दीगृहबाट उपचारका लागि रिहा गरिएको थियो । रिहा भएपछि पनि उहाँ प्रजातन्त्र पुनःस्थापनाका लागि पुनःसक्रिय हुनुभयो । कारागारंबाट रिहा भएपछि भारत निर्वासनमा बसेर क्रियाशील कोइराला विसं २०३३ मा राष्ट्रियतामाथि खतराको बादल मडारिएको ठहर गर्दै आठ मृत्यु दण्डका मुद्दाको पर्वाह नगरी एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभयो ।
स्वदेश फर्किएर मृत्युदण्डका मुद्दाको सामना गर्दैै कोइरालाले बहुदलीय व्यवस्था र सुधारिएको निर्दलीय पञ्चायत व्यवस्थाबीच जनमत संग्रह गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । जनमत संग्रहमा विभिन्न हत्कण्डा अपनाई बहुदल पक्षलाई हराइए पनि उहाँले परिणाम स्वीकार्नुभयो । प्रजातन्त्र पुनःस्थापनामा सक्रिय रहँदारहँदै २०३९ साल साउन ६ अर्थात् आजकै दिन उहाँको घाँटीको अर्बुद रोगबाट निधन भयो । कोइराला प्रजातान्त्रिक समाजवादका व्याख्याताका साथै ‘सोसलिस्ट इन्टरनेशनल’ को उपाध्यक्षका रुपमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँको स्मृति दिवस विभिन्न संस्थाले विविध कार्यक्रम गरी आज मनाउँदैछन् ।