मन्त्रिपरिषद् विस्तार अर्को साता, को को बन्ने भए मन्त्री ?

834
views

काठमाडौं,६ साउन  प्रधानमन्त्री शेरबहादुर देउवालदे मन्त्रिपरिषद् विस्तार अर्को साता मात्रै गर्ने भएका छन्। सत्तारुढ दल कांग्रेसले १३ र माओवादी केन्द्रले ९ मन्त्रालय लिने सहमति मंगलबार नै भएको थियो। तर, प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने वा नहुने भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्णय पर्खिएपछि मन्त्रिपरिषद् विस्तार अर्को सातामात्रै हुने भएको हो।
राप्रपाको काठमाडौंमा जारी केन्द्रीय समिति बैठक शुक्रबारमात्रै सकिने भएकाले प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्न केही दिन कुर्ने निर्णयमा पुगेका हुन्। राप्रपाले संविधान संशोधन र सरकारमा सहभागी हुनेबारे औपचारिक निर्णय गरेपछिमात्रै मन्त्रिपरिषद विस्तार हुने प्रधानमन्त्री देउवा निकट एक नेताले बताए। ‘प्रधानमन्त्रीज्यूले राप्रपाको निर्णय कुरिरहनु भएको छ। राप्रपाको सरकारमा सहभागिता र संविधान संशोधनबारे धारणा सार्वजनिक गरेपछि त्यसलाई हेरेरमात्रै मन्त्रिपरिषद विस्तार हुन्छ।  प्रधानमन्त्री देउवा निकट एक नेताले भने।
राप्रपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवाले संविधान संशोधनका पक्षमा ३७ जनै सांसदको ग्यारेन्टी खोजेका थिए। राप्रपाले केन्द्रीय समितिको बैठकसम्म कुर्न भनेपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार केही दिनका लागि स्थगित गरेका हुन्। प्रधानमन्त्री देउवालाई भेटेर राप्रपा अध्यक्ष कमल थापाले पार्टीभित्रको आन्तरिक विवाद मिलाएर सरकारमा सहभागी हुने बताएका थिए।
राजपा नेपाललाई पनि निर्वाचनमा सहभागी गराउन संविधान संशोधन प्रस्ताव पारित गर्नु पर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाले राप्रपाका सबै ३७ जनै सांसदले पक्षमा मतदान गर्दा दुई तिहाई पुग्ने भएकाले पनि केही ढिलाई गरेको बालुवाटार स्रोतले जनाएको छ।
को–को बन्दैछन् कांग्रेसबाट मन्त्रीरु
प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा मन्त्री बन्न धेरैले आकंक्षा देखाएका छन्। कांग्रेसले पाउने १३ मन्त्रालयमध्ये देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ४, खुमबहादुर खड्का र कृष्ण सिटौला पक्षलाई १–१ वटा मन्त्रालय दिएर बाँकी आफूसँग राख्नेछन्। देउवा समुहबाट भिष्मराज आङदम्बे, मिन विश्वकर्मा, भरत शाह, महालक्ष्मी उपाध्याय ९डिना०, अम्बिका बस्नेत, वीरबहादुर बलायर, बहादुरसिंह लामा, अर्जुनप्रसाद जोशी लगायत नेताहरु मन्त्रीको दौडमा छन्।
यस्तै, पौडेल समूहबाट बलबहादुर केसी, रामकृष्ण यादव, कमला पन्त, जीवन परियार, बद्रि पाण्डे, किरण यादव, सरिता प्रसाईँलगायतले मन्त्रीको दौडमा छन्। पौडेल समूहले मन्त्रीको दौडमा रहेका मध्येबाट महेश आचार्य, रामकृष्ण यादव, जीवन परियार र बलबहादुर केसीलाई पठाउने तयारी गरेको छ।
सिटौला समूहले भने आफ्नो तर्फबाट भिमसेनदास प्रधानको नाम यसअघि नै प्रधानमन्त्री देउवालाई दिइसकेको छ भने खुमबहादुर खड्का समूहबाट मोहन बस्नेत मन्त्री बन्ने लगभग पक्का छ।
माओवादीबाट को–को हुँदैछन् मन्त्री
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भागमा परेका ९ मन्त्रालयको जिम्मेवारी दिने मन्त्रीको नाम टुंगो लगाएको छ। माओवादी केन्द्रले गिरिजामणि पोखरेल, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ, आशा खनाल र शिवकुमार मण्डलको मान टुंगो लगाएको छ।
यसअघि माओवादीबाट सरकारको नेतृत्व गर्दै सरकारमा सहभागी भएका कृष्णबहादुर महराले उपप्रधान एवं परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् भने जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाह शहरी विकास मन्त्री बनिसकेका छन्।
कुन मन्त्रालय कुन दलको भागमा
मंगलबार दुई सत्तारुढ दलबीच ३० मन्त्रालयमध्ये कांग्रेसले १३, माओवादीले ९, नेपाल लोकतान्त्रिक फोरमलाई ३ तथा नेकपा संयुक्तलाई एउटा मन्त्रालय दिने र बाँकी ४ मन्त्रालय राप्रपाका लागि छुट्याउने सहमति भएको थियो। सहमति अनुसार अर्थ, शिक्षा, श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको कांग्रेसले भौतिक पूर्वाधार, रक्षा, सञ्चार, सिँचाइ, समान्य प्रशासन, महिला बालबालिका, खानेपानी तथा सरसफाइसहितका मन्त्रालय पाउनेछ।
माओवादी केन्द्रले भने परराष्ट्र, गृह, सहरी विकाससँगै कानुन, उर्जा, स्वास्थ्य, कृषि विकास, पशुपन्छीसहितका मन्त्रालय पाउनेछ। यस्तै, लोकतान्त्रिक फोरमले स्थानीय विकाससँगै पर्यटन र भूमिसुधार मन्त्रालय पाउने छ। नेकपा संयुक्तलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिने र बाँकी चार वटा मन्त्रालय भने राप्रपालाई दिने सहमति दुई दलबीच भएको छ।