क्रिकेट विवाद समाधानतर्फ

1947
views

काठमाडौं, ८, श्रावण । नेपाली क्रिकेटमा रहेको विवाद समाधानतिर उन्मुख भएको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का उपाध्यक्ष इमरान ख्वाजा र आइसिसीको विकास विभाग हेर्ने कर्मचारी अमर शेखको उपस्थितिमा शनिबार काठमाडौंमा बसेको सल्लाहकार समितिको बैठक सहमति नजिक पुगेको समितिका प्रवक्ता रोहित दाहालले जानकारी दिए ।
‘लामो छलफलपछि आज हामी सहमतिनजिक पुगेका छौं,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का समेत प्रेस सल्लाहकार रहेका दाहलले भने, ‘हामीले नयाँ विधान बनाएर आइसिसीलाई बुझाएका थियौं । विधानमा चतुरबहादुर (चन्द) जीहरूले राख्नुभएको भिन्न बुँदालाई पनि राखेर पठाएका थियौं । त्यसै विषयमा छलफल गर्न आइसिसी प्रतिनिधि र सल्लाहकार समितको बैठकमा सबैलाई मान्य हुने निर्णय भएको छ ।’
नेपाली क्रिकेटमा राखेपले गत वर्ष पुसमा निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति विघटन गर्दै नयाँ तदर्थ समिति बनाएपछि समस्या थपिएको थियो । त्यसैलाई बहाना बनाउँदै विश्व क्रिकेटको सर्वोच्च नियमनकारी निकाय आइसिसीले वैशाख १३ गते नेपाली क्रिकेटलाई निलम्बन समेत गरेको थियो । त्यसपछि आइसिसीले नयाँ विधान बनाएर चुनाव गराउने अख्तियारीसहित विनयराज पाण्डे र वसन्त चौधरीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको थियो । चतुरबहादुर चन्द समूहले सुरुमा अस्वीकार गरे पनि पछि चन्द र अशोकनाथ प्याकुरेल सो सल्लाहकार समितिमा बसेका थिए । चन्द समूहले साधारण सभामा ३८ जिल्लाबाट १ र १ प्रतिनिधि हुनुपर्ने माग गरेको थियो ।
निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले छलफल जारी रहेको बताउँदै साधारण सभामा सबै जिल्लाको प्रतिनिधि हुनुपर्ने तथा निर्वाचित कार्यसमितिको सहभागिता हुनुपर्ने माग राखेको हुँदा नेगोसिएसनमै भएको बताए ।