एजेन्सी । पछिल्लो समयमा चीनको सीमा क्षेत्रमा बढ्दो तनावबीच भारतमा सैन्य सामग्रीको लेखाजोखा सुरु भएको छ । पाकिस्तान र चीनसँग तनवापूर्ण सम्बन्ध रहेको भारतसँग युद्धको अवस्थामा १० दिनसम्म झेल्नसक्ने युद्ध सामग्री मात्रै रहेको खुलासा भएको हो । भारतको नियन्त्रक एवं. महालेखा परीक्षकको एक रिपोर्टमा यदि युद्ध छेडेको अवस्थामा भारतीय सेनाले प्रयोग गर्ने गोला बारुदमा ४० प्रतिशत त १० दिनमा नै सकिने उल्लेख गरिएको छ ।
रिपोर्टअनुसार युद्धको स्थितिमा ७० प्रतिशत ट्यांक र तोपको ४४ प्रतिशत गोला १० दिनमा सकिनेछ । नियमअनुसार सेनासँग कम्तिमा पनि ४० दिनसम्म प्रयोग गर्न सकिने हतियार र गोलाबारुद हुनुपर्दछ ।
दुई वर्षअघि सन् २०१५ को मे महिनामा सेनाको कम हुँदै गएको गोलाबारुदको भण्डारबारेको विस्तृत रिपोर्ट बनाइएको थियो । संसदमा शुक्रबार पेश गरिएको सो प्रतिवेदनमा जनाइएअनुसार सैन्य मुख्यालयले सन् २००९ देखि २०१३ का बीचमा सैन्य सामग्री खरिदको प्रक्रिया सुरु गरेको थियो ।
सो प्रक्रियाअनुसारका केही सामग्री खरिद गर्ने काम सन् २०१७ सम्म पनि पुरा नभएको जनाइएको छ ।
अर्डिनेन्स फ्याक्ट्री बोर्ड (ओएफबी) को कामकाजको चर्को आलोचना गर्दै प्रतिवेदनमा भनिएको छ, ‘सन् २०१३ देखि ओएफबीका तर्फबाट आपूर्ति हुने गोलाबारुदको गुणवत्ता र मात्रामा कमी रहेकोतर्फ ध्यानाकर्षण गराइए पनि यस दिशामा कुनै प्रगति भएको छैन ।’
भारत र चीनबीच पछिल्लो समय सैन्य तनाव बढेको छ । सीमा क्षेत्रमा दुवै पक्षका सेनाको उपस्थिति बाक्लो तुल्याइएको छ भने चीनले भारतलाई विनाशर्त सीमा क्षेत्रबाट सेना फिर्ता लैजान चेतावनी दिदैं आएको छ ।