नेपाल टेलिकमको डाटा प्याकेज अनलाईन माद्यमबाट गर्न सकिने

2180
views

काठमाण्डौ, १०, श्रावण । नेपाल टेलिकमले अनलाईन माद्यमबाटै डाटाप्याकेज खरिद गर्न सकिने बनाएको छ । टेलिकमका अनुसार कम्पनीले उपलब्ध गराएउँदै आएको विभिन्न डाटा प्याकेज अब नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिने छ ।
यसका लागि  अफर डट एनटीसी डट एनइटी डट एनपी पीमा लगअन गर्नुपर्ने कम्पनीले जनाएको छ । लग अन पश्चात आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेज छनोट गर्न सकिने भएको छ । विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत उक्त अनलाइनमै उल्लेख गरिएको छ । त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नुपर्नेछ । आफ्नो सीमको पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिने कम्पनीले जनाएको छ ।
सबै विवरण भरेर बाइ डाटा प्याक बटन थिचे पछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुनेछ । यसका लागि मोबाइलमा आवश्यक ब्यालेन्स हुनु भने आवश्यक छ ।
नेपाल टेलिकमको डाटा प्याकेज आफ्नो मोबाइलमा स्टार १४१५ ह्यास डायल गरेर पनि लिन सकिन्छ । त्यसैगरी १४१५ मा एसएमएस पठाएर पनि डाटा प्याकेज लिन सकिने कम्पनीले जनाएको छ। तर ग्राहकको सुविधाका लागि अहिले अनलाइन माध्यमबाट समेत डाटा प्याकेज लिन सकिने व्यवस्था गरिएको हो । यसबाट ग्राहकलाई डाटा प्याकेज लिन थप सहज हुने अपेक्षा कम्पनीले लिएको छ । नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराउँदै आएको छ। त्यसैगरी सीडीएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध छ टेलिकमले जनाएको छ ।