चीनले डोभालको भ्रमणमा सीमा विवादबारे छलफल नगर्ने

607
views

एजेन्सी । ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठकका क्रममा चीन जान लागेका भारतीय सुरक्षा सल्लाहकारको भ्रमणलाई चीनले महत्व नदिएको चर्चा सुरु भएको छ ।
ब्रिक्स राष्ट्रका सुरक्षा सल्लाहकारको बैठकमा सहभागी हुनका लागि भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल चीन जाँदैछन् । यही २७ र २८ जुलाईमा हुन लागेको यो सम्मेलनका क्रममा डोभालले चिनियाँ समकक्षीसँग भेट गर्ने सम्भावना रहेको बताइएको छ ।
२७ जुनमा पूर्वोत्तर भारतीय राज्य सिक्किम र भुटानको सीमा क्षेत्रमा रहेको चिनियाँ क्षेत्रमा सडक निर्माण गर्ने क्रममा भारतीय सेनाले अवरोध गरेपछि दुई देशबीच पछिल्लो समयमा विवाद उत्कर्षमा पुगेको छ ।
चीनले आफ्नो क्षेत्रमा निर्माण गरिरहेको सडकको कार्यप्रति भारतले डोकलाममा दखल दिएको भन्दै विरोध जनाएको थियो । यसैबीचमा चीनको सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ ले डोभालको चीन भ्रमणबारे सम्पादकीय लेखेको छ ।
जनमा भनिएको छ, ‘भारतले आफ्नो भ्रम छाड्नु पर्छ । अजित डोभालको चीन भ्रमण दुई देशबीच जारी विवाद भारतको अनुकुलतामा हल गर्ने सही मौका होइन । ब्रिक्स देशका राष्ट्रिय सुरक्षा सल्लाहकारको नियमित बैठकका रुपमा हुने एक सम्मेलन हो, जसको उद्देश्य ब्रिक्स शिखर सम्मेलनको तयारी गर्नु हो । यो प्लेटफर्म चीन–भारत सीमा विवाद समाधानका लागि होइन ।’
ग्लोबल टाइम्सले हाल रहेको सीमा विवादका पछि सबैभन्दा ठूलो भूमिका नै डोभालको भएको समेत दाबी गरेको छ । भारतीय सञ्चारमाध्यमले भने डोभालको यो भ्रमणका क्रममा चीन–भारत सीमा विवाद समाधानको उपयुक्त मौका हुनसक्ने उल्लेख गरेपछि चिनियाँ पत्रिकामार्फत नै त्यसको जवाफ आएको हो ।
सीमा विवादबारे आफ्नो धाराणा स्पष्ट पार्दै सो पत्रिकाले भारतीय सैनिकलाई फिार्ता बोलाएपछि मात्रै दुई देशबीच सार्थक वार्ताको सम्भावना रहने स्पष्ट पारेको छ ।
सम्पादकीयमा भनिएको छ, ‘सीमा विवादबारे डोभालले सौदाबाजीको कोशिस गरेमा उनलाई निराशा मात्रै हात लाग्नेछ । यस मुद्दामा चीन सरकारको अडानप्रति सबै चिनियाँ जनाको समेत समर्थन प्राप्त छ । चिनियाँ जनता आफ्नो जमिनको एक इन्च पनि छाड्न नहुनेमा स्पष्ट छन् ।’
अखबारका अनुसार चीनको जीडीपी भारतको भन्दा पाँच गुणा र रक्षा बजेट चार गुणा बढी रहेको छ । भारतीय सेनाको विना शर्त फिर्ती नै समस्या समाधानका लागि पहिलो कदम हुने चीनले बताउँदै आएको छ ।