पोखराको लेकसाइड र उपत्यकाका मुख्य पर्यटकीय क्षेत्र २४ घन्टा खोल्ने तयारी

780
views

काठमाडौं, १४, श्रावण । उपत्यका र पोखराका मुख्य पर्यटकीय क्षेत्रहरुमा २४ सै घण्टा खुल्ला राख्ने तयारी थालिएको छ । १५ दिनभित्रै २४ घन्टै खुला गर्ने तयारी थालेको गृहमन्त्रालयले जनाएके छ । गृह मन्त्रालयले १५ दिनभित्र पर्यटकीय क्षेत्र रातभरि खुला राख्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रधान कार्यालय र स्थानीय प्रशासनलाई पत्राचार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखराका पर्यटकीय क्षेत्रलाई २४ घन्टा खोल्न लागिएको हो । चारै जिल्लामा प्रहरीले आवश्यक तयारी सुरु गरेको छ
पहिलो चरणमा दरबारमार्ग, ठमेल, झम्सिखेल, लेकसाइड खोलिने
काठमाडौंको दरबारमार्ग र ठमेल, ललितपुरको झम्सिखेल तथा पोखराको लेकसाइड क्षेत्रलाई २४ घन्टा नै खोल्न लागिएको हो। गृहले भक्तपुरमा पनि व्यवसायीबाट माग भएमा २४ घन्टै खोल्न पत्राचार गरेको छ । काठमाडौं र पोखरामा तत्काल खोल्ने तयारी भए पनि ललितपुर र भक्तपुरमा भने केही महिना लाग्ने प्रहरीले जनाएको छ ।
गृहले प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासनलाई बुधबार पत्राचार गरेको थियो । गृहमन्त्री जनार्दन शर्माको ८४ बुँदे गृह सुधार मार्गचित्रको २५ औँ बुँदामा पर्यटकीय क्षेत्रलाई २४ घन्टा खोल्ने उल्लेख छ । सोही योजनालाई कार्यान्वयन गर्न लागिएको हो । पर्यटकलाई आकर्षित गर्न २४ घन्टा सञ्चालन गर्न लागिएको हो । ‘बिहीबार मन्त्रालयबाट चिठी आएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले भने, ‘१५ दिनभन्दा पनि छिटो हामी मुख्य पर्यटकीय बजार २४ सै घन्टा खोल्नेछौँ ।
मापदण्ड पूरा गरेकालाई मात्र खोल्न दिनुपर्ने प्रहरीको प्रस्ताव
प्रहरीले सिसिटिभी, सुरक्षागार्ड, खाली स्थान, आकस्मिक कक्ष तथा मेडिकल किटको व्यवस्था भएका रात्रिकालीन व्यवसायलाई मात्र २४ घन्टा सञ्चालन गर्न दिनुपर्ने प्रस्ताव गरेको छ । निश्चित मापदण्ड पूरा गरेका रेस्टुरेन्ट तथा डिस्कोलाई मात्र २४ घन्टा खोल्न दिइनेछ । नेपालमा वर्षौंदेखि पर्यटकीय बजारहरू २४ सै घन्टा खुलाउने प्रयास हुँदै आए पनि माथिल्लो तहबाट सहयोग नहुँदा सफल हुन सकेको छैन। यसपटक गृहमन्त्रीले नै अग्रसरता लिएपछि रात्रिकालीन व्यवसाय बिहानैसम्म चल्ने भएका छन् ।
हाल रात्रिकालीन व्यवसाय सामान्यतया १२ बजेसम्म मात्र चल्ने गरेका छन्। डिस्को र लाउञ्ज बारलाई भने प्रहरीले बिहान २ बजेसम्म खोल्ने अनुमति दिएको छ । सुरक्षाकै कारण देखाउँदै प्रहरीले रात्रिकालीन व्यवसायलाई समयसीमा तोकेको हो । शुक्रबारबाहेक अन्य दिन १२ बजे नै ठमेल(दरबारमार्ग सुनसान हुने गरेको छ ।