विश्व बाघ दिवशः बाघको संरक्षण चुनौतीपूर्ण बन्दै

1452
views

रत्ननगर (चितवन), १४, श्रावण । नेपालमा १९८ बाघ मध्ये १२० बाघ चितवन निकुञ्जमा रहेको तथ्याङ्क छ । सन् २०१३ को राष्ट्रिय तथ्याँकले यहि देखाएको छ । बाँकेमा चार, पर्सामा सात, शुक्लाफाँटमा १७ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा ५० बाघ रहकोमा बाघको संख्या बढेर ६२ पुगेको छ । चितवनको सौराहामा भजनचुड्कासहित बाघ संरक्षणका कार्यक्रम समेत गरिएको छ । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत बाघ संरक्षण उपसमितिले सौराहामा चेतनामूलक र्यालीसहित कार्यक्रम गरेको थियो बाघ पाइने ठाउँमा अरु प्रजाति सजिलै पाइन्छ । सातौँ विश्व बाघ दिवशलाई ‘स्वास्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित देशैभरका संरक्षणकर्मी चितवनमा केन्द्रित भए ।
सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ । २००९ मा १२१ रहेको बाघ सन् २०१३ को गणनामा १९८ पुगेको छ । अहिले बाघ पाइने हरेक निकुञ्ज र आरक्षमा बाघको संख्या बढेको अनुमान विभागको छ । अब लक्ष्य पूरा गर्ने नेपालमा २४२ बाघ बनाउनुपर्ने चुनौती छ ।
यही वर्ष नेपाल र भारत दुवै देशले एकैसाथ बाघको गणना गरेर तथ्याँक निकाल्ने तयारीमा छन् । अहिलेकै अवस्था रहने हो भने सन् २०२२ मा बाघको संख्या दोब्बर पार्ने लक्ष्य पूरा हुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालको भनाई छ ।
जलवायु परिवर्तनका कारणले बाघ बसाई सराइ गर्ने अवस्था देखिएको छ । वाघ संरक्षण र वृद्धिका लागि चुरे क्षेत्रको संरक्षणतर्फ पनि विभागले कदम चालेको निकुञ्ज विभागका संरक्षण शिक्षा अधिकृत विष्णु श्रेष्ठले बताउनुहुन्छ ।
सबैभन्दा बढी बाघ पाइएको चितवन निकुञ्जले अघिल्लो वर्ष विश्व मै बाघ संरक्षणका लागि उत्कृष्ट ‘क्याट अवार्ड’ समेत पाएको छ । पछिल्लो समयमा वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि समस्याको रुपमा देखिएको छ । हालै एउटा विज्ञ समूहले गरेको अध्ययनमा चितवन निकुञ्जका पाँच प्रतिशत बाघले मानवीय जोखिम बढाएको देखाएको छ । मुख्य कारण भने आफ्नो क्षेत्र निर्धारण गर्न नसकेका बाघ भएकाले तिनीहरुका लागि जाने मार्ग खुला गर्नुपर्ने अवस्था आएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्रमुख तथा बाघविज्ञ डा चिरञ्जीवी पोखरेल बताउनुहुन्छ ।