बदलिएको प्रचण्ड चाहाना ः राजपा, फोरम र संघीय समाजवादीसँग गठबन्धन गर्ने

1196
views

बर्दिबास, १६, श्रावण । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा मधेश केन्दित दलसंग आफनो पार्टीले गठबन्धन बनाएर चुनाव लड्ने बताएका छन् । चुनावी तयारीको प्रशिक्षणका लागि जनकपुर जानेक्रममा सोमबार महोत्तरीको बर्दिबासमा संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन ।
‘चुनावमा संघीय लोकतान्त्रिक शक्तिबीच दलीय गठबन्धन बनाएर चुनावमा जाने हामीले निर्णय नै गरेका छौं,’अध्यक्ष प्रचण्डले भने,‘तर, प्रदेश नम्बर २ मा राजपा, लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरमसंग मिलेर चुनावमा जाने हाम्रो बिशेष जोड छ ।’
तेस्रो चरणको चुनावमा राजपालाई सहभागी गराउनु पर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए । उनले भने ,‘राजपालाई सहभागी गराएर चुनाव गराउन सके राम्रो हुन्छ । राजपा सहितको चुनाव गराउनमा हाम्रो शक्ति केन्द्रीत छ,’ उनले भने,‘एमाले विना पनि संविधान संशोधनको लागि लागि दुई तिहाई संख्या पुग्छ । हाम्रो शक्ति संविधान संसोधन र चुनावमा केन्द्रीत छ ।’ संविधान संसोधन भयो भने देशमा राजनितिक संक्रमणकाल अन्त्य हुनेमा विश्वास उनले व्यक्त गरे ।
प्रदेश नम्बर २ मा अझैपनि स्थानीय निकायको संख्या बढ्न सक्ने सम्भावना रहेको अध्यक्ष प्रचण्डले बताए । ‘मेरै पालाको सरकारले प्रदेश नम्बर २ मा स्थानीय तहको संख्या थप्ने काम गरिसकेको छ । सरकारको निर्णय सर्वोच्चले कार्यान्वय नगर्न अन्तरिम आदेश दिएको छ,’उनले भने ‘तर, साउन १७ गते यदि अदातले सरकारको निर्णय कार्यान्वयन गर्न फुकुवा गरिदियो भने स्थानीय तहको संख्या प्रदेश नम्बर २ मा बढ्न सक्छ । संख्या बढ्यो भने राजपाको माग सम्बोधन हुन्छ । स्थानीय तहको नक्सा मिलाउने कुरा हो मिलाइन्छ यसका कुनै समस्या हुँदैन ।’
प्रदेश र केन्द्रको चुनाव एकै चरणमा गर्नको लागि राजनीतिक दलहरु सकारात्मक रहेको अध्यक्ष प्रचण्डले दावी गरे । उनले भने,‘राजनितिक दल एकै चरणमा प्रदेश र केन्द्रको चुनाव गर्ने बिषयमा तयार छन् । निर्वाचन आयोगले एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गराउन प्राविधिक कठिनाई हुने देखाई रहेको छ । एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गर्न अझैपनि हामी कसरत गरिरहेका छौं ।’ केन्द्र र प्रदेशको चुनावको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी गराए ।
पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकास, माओवादी केन्द्रका महासचिव रामबहादुर थापा बादल लगायतका केन्द्रीय स्तरका नेता चुनावी प्रशिक्षण दिन काठमाण्डौंबाट जनकपुर पुगेका छन् ।