राजीनामा दिन गएका श्रेष्ठलाई प्रधानमन्त्रीले ‘केही समय पर्खन’ भन्दै फर्काए,यस्तो छ राजीनामा रोक्नुको कारण

1100
views

काठमाण्डौ, १७, श्रावण । महान्यायाधिवक्ता पदबाट राजीनामा दिन गएका महान्यायाधिवक्ता रमण श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ‘केही समय पर्खन’ भन्दै फर्काएका छन् । श्रेष्ठ प्रचण्ड नेतृत्व सरकारका महान्यायाधिवक्ता हुन् । उनले आफ्ना केही मुद्दा सर्वाेच्चबाट निर्णय गराउनु परेको भन्दै महान्यायाधिवक्ताको पद छाडेका थिएनन् ।
रमण श्रेष्ठ सर्वाेच्चमा बेन्च सपिङ गर्ने, ठूला मुद्दामा भनेअनुसार फैसला गराउन सक्रिय रहने अग्रणी पात्र हुन् । निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीसमक्ष आफू अनुकुलको बेन्च गठन र मुद्दा फैसलाका लागि बारम्बार दवाव दिने पात्र समेत हुन् । श्रेष्ठ तत्कालीन प्रधानन्यायाधीश कार्कीले सरकारले भनेअनुसार फैसला नगरेपछि महाभियोगको डिजाइनर समेत रहेको चर्चा थियो । सो कुरा प्रधानन्यायाधीश सुशीला कार्कीले बीबीसीकै साझा सवाल कार्यक्रममा पनि खुलासा गरेकी थिईन् ।
भरतपुर प्रकरण, आइजीपी प्रकरण र भ्रष्टाचारका अन्य केही ठूला मुद्दा अदालतबाट निर्णय नभएसम्म रमणलाई महान्यायाधिवक्तामा राखिरहने देउवाको चाहना अनुरुप रमण माओवादी निकट भएपनि देउवाले निरन्तरता दिन खोजेका छन् । सुशीला कार्की प्रधानन्यायाधीश हुँदा बेन्च सपिङ हुन नसकेको र त्यसपछिका सर्वाेच्चका फैसलाहरुमा प्रत्यक्ष पहुँच राख्ने भएकाले रमणलाई निरन्तरता दिने प्रधानमन्त्री देउवाको चाहना रहेको बुझिन्छ ।
देउवाले आइजीपी काण्ड र अरु ठूला भ्रष्टाचारका केही मुद्दा अदालतबाट अनुकुल फैसला नआउन्जेल रमणलाई पद नछोड्न सुझाव दिएका छन् । आइतबार भरतपुरको फैसला आएपछि सोमबार दिउँसो साढे ४ बजे राजीनामा दिने भन्दै महान्यायाधिवक्ताको कार्यालयबाट रमण बाहिरिएका थिए । ‘मैले राजीनामाको कुरा गर्दा अहिले पर्खनुस् न भन्ने कुरा भयो,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने ‘कुरा यत्ति मात्र हो ।’