आयोगद्धारा भरतपुर–१९ मा पुनः मतदानका लागि मिति तोक्न निर्देशन

1101
views

काठमाण्डौ, १७, श्रावण । भरतपुर महानगरपालिका वडा नं १९ का सबै मतदान केन्द्रमा यथाशीघ्र पुनः मतदान गराउनका लागि मिति तोक्न निर्वाचन आयोगले चितवनका मुख्य निर्वाचन अधिकृतलार्ई निर्देशन दिएको छ । सोमबारको बैठकले उक्त वडाको मतदान हुने स्थान, मिति र समय तोक्न महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको जनाइएको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत गत वैशाख ३१ गते मतदान भएको थियो । मतगणनाका क्रममा जेठ १५ गते मतपत्र च्यातिएपछि मतगणना स्थगन भएको थियो । उक्त घटनापछि सर्वाेच्च अदालतमा तत्काल मतगणना अघि बढाउन आदेश जारी गर्न माग गर्दै परेको रिट निवेदन अदालतले आइतबार खारेज गरी पुनः मतदान गराउने फैसला सुनाएको थियो । नेकपा (माओवादी केन्द्र)का तर्फबाट रेणु दाहाल र नेकपा(एमाले)का तर्फबाट देवी ज्ञवाली महानगरपालिकाको प्रमुख उम्मेदवार हुनुहुन्छ ।