‘दुई तिहाइको सुनिश्चितता नभएपछि रोकियो संविधान संशोधन विधेयक

523
views

काठमाडौं १८ श्रावण ( कांग्रेस केन्द्रीय कार्यसमितिको साउन ९ गते सम्पन्न बैठकले संसदीय प्रक्रियामा ‘होल्ड’मा राखिएको संविधान संशोधन विधेयक मतदानमा लैजाने निर्णय लियो । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यही निर्णय कार्यान्वयनमा लैजान राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका नेतासंग अनौपचारिक संवाद पनि गरे । तर, दुई तिहाइबाट पारित हुने सुनिश्चित नभई विधेयक अघि नबढाउन राजपाका नेताले नै चेतावनी दिएपछि प्रधानमन्त्री देउवा हच्किए ।
दुई तिहाइको सुनिश्चितता नभई मतदानमा लैजाँदा राजपाकै नेताहरूले मतदान नगर्ने चेतावनी दिएपछि प्रधानमन्त्री हच्किएको बालुवाटार स्रोतको दाबी छ । त्यसपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरे । सरकारमा सहभागी हुन नपाएपछि सरकारको पक्षमा रहँदै आएका राप्रपा र केही साना दलसमेत टाढिन पुगे ।
एमालेको समर्थनबिना संविधान संशोधन हुन सक्ने झिनो सम्भावनामा पनि मन्त्रिपरिषद् विस्तारसँगै पूर्णविराम लागेको छ । जसप्रति राजपाका नेता पनि सन्तुष्ट छैनन् । संविधान संशोधनपछि मात्रै प्रदेश २ मा चुनाव गर्ने वचनबद्धता गरेका प्रधानमन्त्री देउवाले अब के गर्लान् रु अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस नेता रमेश लेखकको एउटै जवाफ छ, सरकार अझै पनि दुई तिहाइ पुर्यानउने प्रयत्न गर्दैछ ।
कांग्रेस तेस्रो चरण चुनावअघि नै संशोधन विधेयकलाई मतदानमा लैजान चाहन्छ । पार्टी केन्द्रीय कार्यसमितिको निर्णय पनि यही दिशामा छ । तर, राजपा कांग्रेसको चाहनाअनुसार दुई तिहाइ सुनिश्चितता नभएसम्म मतदानमा लैजान नहुने पक्षमा छ । ‘जबर्जस्ती’ अघि बढाइए मतदानमा भाग नलिने उसको चेतावनी छ ।
पारित नहुने अवस्थामै संशोधन विधेयक अघि बढाउँदा मोर्चालाई मधेसमै आफ्नो अस्तित्व नरहने शंका छ भने ‘होल्ड’ राखिरहँदा कांग्रेसलाई आफ्नो जनमत खस्कने भय छ ।
संविधान संशोधन विधेयकलाई ‘होल्ड’ मा राखिराख्नुभन्दा निर्णयमा लैजाने र दुई तिहाइले पारित हुन नसके एमालेलाई त्यसको बाधकका रूपमा प्रस्तुत गरी चुनावी मोर्चाबन्दी गरेर अघि बढ्न कांग्रेस नेताहरूले राजपा नेताहरूलाई सुझाइरहेका छन् । तर, मधेसमा राजपाका लागि एमालेभन्दा पनि कांग्रेस नै मुख्य चुनौती छ । राजपामा आबद्ध धेरै नेता संविधान संशोधनको दोस्रो चुनावमा कांग्रेस नेताहरूसँग नै हारेका थिए ।
संविधान संशोधन विधेयकलाई मतदानमा लैजाँदा आउन सक्ने दुवै परिणामबाट कांग्रेस लाभान्वित बन्ने आकलन छ । दुई तिहाइले पारित हुँदा मुख्य स्वामित्व कांग्रेसले लिनेछ र मधेसको मत प्रभावित पार्न सकिन्छ भन्ने एउटा धारणा छ ।
विधेयक अस्वीकृत भए पनि त्यसको दोष मुख्य प्रतिस्पर्धी एमालेलाई लगाएर मत प्रभावित पार्न सकिन्छ भन्ने धारणा कांग्रेसमा पछिल्लो पटक प्रबल बनेको छ । ‘हामी केही दिनमै संविधान संशोधन विधेयक मतदानमा लैजान्छौं,’ केही दिन भनेको चुनावअघि हो कि भन्ने थप प्रश्नमा कांग्रेस नेता लेखकले यत्ति भने, ‘छलफल भइरहेको छ । केही दिनभित्र अघि बढ्छ ।’
राजपाभित्र पनि संविधान संशोधन विधेयकलाई मतदानमा लैजाने कि नलैजाने भन्नेमा दुइटा दृष्टिकोण छन् । महेन्द्र यादवलगायतको एउटा समूह जे भए पनि प्रक्रियामा लगेर टुंग्याउन चाहन्छ । तर, महन्थ ठाकुर पक्ष भने त्यसको विपरीत धारमा छ । जसलाई राजपाका नेता अनिल झाले स्विकार्दै बुधबारदेखि सुरु हुने पार्टीको पदाधिकारी बैठक र त्यसपछि केन्द्रीय कार्यसमितिको बैठकले गर्ने औपचारिक निर्णयलाई सबैले मान्ने दाबी गरे । उनका अनुसार चुनावमा भागलिनेरनलिनेदेखि संविधान संशोधन विधेयकलाई कसरी अघि बढाउने भन्नेबारे समेत अबको बैठकले निर्णय लिनेछ ।
राजपाका अधिकांश नेता संविधान संशोधन नगरी चुनावमा सहभागी हुँदा पार्टीकै अस्तित्व समाप्त हुने भयमा छन् । ‘चार वर्षसम्म आन्दोलन गरियो । यो अवधिमा न त सरकारमा गइयो, न त राज्यबाट कुनै अवसर नै लिइयो,’ झाले सुनाए, ‘हाम्रा सांसदहरूको हालत गाडीमा तेल हाल्न सक्ने पनि छैन । यी सबै गुमाएर आन्दोलनमा जानुको औचित्य कसरी सावित गर्ने रु संविधान संशोधन पारित नभई चुनावमा जाँदा हाम्रो भएभरको हैसियत गुम्छ । आक्रोशको बेलुन हाम्रै टाउकामाथि फुट्छ ।’
सार्वजनिक रूपमा जे भनिए पनि संशोधन विधेयकलाई राजपा र सरकार पक्षले समेत रणनीतिक चुनावी दाउपेचको मुद्दा बनाएका छन् । पारित नहुने गरी विधेयक अघि बढाउँदा मोर्चाले मधेसमै आफ्नो अस्तित्व देखेको छैन भने ‘होल्ड’ राखिराख्दा कांग्रेसले आफ्नो जनमत खस्कने भय देखेको छ । ६ वटा प्रदेशको चुनावमा दोस्रो स्थानमा रहेको कांग्रेसले २ नम्बर प्रदेशबाट आफूलाई सम्मानजनक स्थितिमा ल्याउने प्रयासमा छ । कांग्रेस नेता विमलेन्द्र निधिले त प्रदेश नम्बर २ को १ सय २७ संख्यामा सय स्थानीय तह जित्ने दाबी गरेका छन् ।
‘महेन्द्र यादवजीहरू जसरी पनि संशोधनलाई प्रक्रियामा लगेर चुनावमा आउन खोज्नुभएको छ । तर, महन्थजी पारित नभए किन लैजाने भन्नु हुन्छ । राजपाकै केही साथीहरू त लगेर पारित भएन भने नैतिकताका आधारमा संसदबाट राजीनामा गरेर हामीहरू बाहिरिनुपर्छ, यसो गरौं भन्ने पक्षमा हुनुहुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘जबर्जस्ती मतदानमा लैजाँदा राजपा नै विभाजित हुने अवस्था देखिएको छ । उहाँहरूकै सांसदहरूले मत नहाल्ने स्थिति देखीदेखी कसरी यसलाई अघि बढाउने भन्ने अप्ठ्यारो सरकारलाई परिरहेको छ ।’
कांग्रेसले आफूलाई संविधान संशोधनको पक्षधर देखाइसकेपछि मधेसमा उसलाई रोक्न कठिन हुने बुझाइ राजपा नेताहरूकै छ । एमाले पृष्ठभूमिका राजपा नेता एमालेविरुद्ध उत्रेर वापपन्थी मत तान्ने पक्षमा छन् भने कांग्रेस पृष्ठभूमिका राजपा नेताहरू कांग्रेसविरुद्ध उत्रिएर प्रजातान्त्रिक मत तान्ने रणनीतिमा देखिन्छन् । तर, झाले भने संविधान संशोधन नभएसम्म चुनावमै जाने पक्षमा राजपा नभएको दाबी गरे । ‘संविधान संशोधन विधेयक प्रजातान्त्रिक प्रक्रियासंँग होइन, मधेसको आम भावनासंँग गाँसिएको छ । यो पारित नभएसम्म हामी चुनावमा जान सक्दैनौं,’ उनले भने, ‘आजको मितिसम्म संविधान संशोधन नभएसम्म चुनावमा जाने पक्षमा राजपा देखिन्न ।’