वालिङमा थप ५ जनामा स्वाईन फ्लू भेटियो

708
views

प्रतिक्षा काफ्ले
स्याङजा, १८, श्रावण । वालिङ नगरपालिका–१४ का ४९ वर्षिय खुमप्रकाश अर्यालको गत १२ गते स्वाइन फ्लूबाट मृत्यु भएपछि काठमाडौंबाट आएको चिकित्सकको टोली फ्लूको लक्षण देखिएका २० जनाको रतग परिक्षण गर्दा ५ जनामा स्वाइन रहेको मंगलबार पुष्टि गरेको छ । एक बिरामीको स्वाइन फ्लू कै कारण मृत्यू भएको खबर आएसँगै वालिङ नगरपालिकामा स्थलगत परीक्षण गर्न काठमाडांैबाट चिकित्सकको टोली गत शुक्रबार (१४ गते) वालिङ आएको थियो । महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेसहित दुईजनाको टोली शुक्रबार साँझ स्याङ्जा आएको थियो र शनिबार वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि आएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । गम्भिर रुपमा बिरामी परेका २० जनाको रगत र खकार संकलन गरी २४ घण्टा भित्र काठमाडौं र्पुयाउने योजनाले टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । मंगलबार ५ जनालाई स्वाईनफ्लू देखापरेको महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट प्राथमिक स्वास्थ्य केन्द्रमा रिर्पोट आएको हो ।

 

वर्षा लागेपछि मौसम फेरिने क्रममा सामान्य बिरामी भएको भन्दैसामान्य औषधि सेवन गर्दै जाँदा उनीहरुलाई स्वाइन फ्लूबाट संक्रमित भएको स्वास्थ्यकर्मीको भनाइ छ । स्वाइन फ्लू देखिएको खबर सर्वसाधरणमा फैलिएपछि क्रास उत्पन्न भएको हो । लक्षण देखिएका ५ जनालाई थप उपचारको व्यवस्था गरिनुपर्ने र थपमा सो रोग भएनभएको यकिन गर्न लागि अनुसन्धान गरी थप क्षति हुनबाट जोगाउन सम्बन्धित निकायलाई स्थानीयहरुले आग्रह समेत गरेका छन् । सामाजिक संजाल

फेसबुकबाट पनि सर्वसाधारणहरुले गाउँ–गाउँमा उपचार गर्न स्वास्थ्य टोलीको माग गरेका छन् ।
वालिङ नगर निवासी प्रदीप कोइराला फेसबुकमा लेखेका छन्– ‘भाइरस पोजेटिभ देखिनु दुःखद हो । जे होस् रोग देखार्पयो । उपचार पनि सम्भव छ । बेलैमा सचेत होऔं । धैर्य भएर सम्भावित लक्षणका बिरामीको उपचार तर्फ लागौं ।’ उनले यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरु बढी कृयाशिल रहन फेसबुक मार्फत आग्रह समेत गरेका छन् ।
वालिङ नगरपालिका– ३ निवासी सुशील सुवेदीले पनि फेसबुकमा यस्तो लेख्छन्– ‘अब त सचेत पो हुनुपर्ने भो । २० जना परीक्षण गरेको मध्ये ५ जनालाई स्वाइन फ्लू देखापर्नु दुस्खद कुरा हो । हामीले प्रयोग गर्ने गरेको मास्क उपयुत्त छैन है चिकित्सकसंग सल्लाह लिएर मात्र मास्कको प्रयोग ।’
यतिबेला वालिङ क्षेत्र लगायत जिल्लाभरी स्वाइन फ्लूले आक्रमण गरेको आशंकाले सबैलाई सचेत रहन आग्रह गरेको स्वास्थ्यकर्मीहरुले दाबी गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. बिना शाक्यलाई टेलिफोनमा सम्पर्क गर्दा यसबारे आफू जिल्ला बाहिर भएको भन्दै बोल्न चाहिनन् । प्राथमिक स्वास्थ्य केन्द्र वालिङका प्रमुख डा. प्रविण घिमिरेसंग पनि टेलिफोन सम्पर्क गर्दा यसबारे खुल्न चाहेनन् ।
स्वास्थ्य केन्द्रका अध्यक्ष एवं वालिङ नगर प्रमुख दिलीपप्रताप खाँडले बिरामीहरुको रोग परीक्षण गरी औषधि वितरण गरिएको बताए । ‘५ जनालाई स्वाइन फ्लू भएको हिजो मात्र रिपोर्ट आयो,’ उनले भने, ‘हामीले रिपोर्ट आउनु पूर्व लक्षणको आधारमा औषधि दिएका थियौं । अहिले केही सुधार आएको छ । हामीसंग औषधि र स्वास्थ्यकर्मीको टिम पनि छ । यसकारण वालिङवासी ढुक्क रहे हुन्छ ।’
उनले स्वाइ फ्लूको औषधि डब्लुएचओले उपलब्ध गराएको बताए । अन्य ठाउँका मानिस पनि वालिङ आउन त्रसित बन्नु नपर्ने उनको सुझाव छ । उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा हाल स्वाइन फ्लू भएका बिरामीको संख्या घटेको र सामान्य रुघा खोकीका बिरामी आउने गरेका छन् ।
परीक्षणको लागि आएको चिकित्सकको टोलीले यो रोग सामान्य भएपनि समयमै सचेत रहे असर नर्पुयाउने भन्दै नआत्तिन आग्रह गरेका थिए । स्वाइन फ्लू लाग्दा ज्वरो आउने (१०४ डीग्री फरेनहाइटभन्दा बढी), अत्याधिक मात्रामा टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र बच्चाहरुलाई झाडापखाला समेत हुनसक्ने जस्ता लक्षण देखा पर्दछन् ।