पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य थालनी भयो

562
views

पोखरा १९, साउन सिलान्यास भएको १६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढेको छ। तोकिएको समयभित्रै विमानस्थल निर्माण हुनेमा ढुक्क रहन निर्माणको जिम्मा लिएको चाइना सिएएमसी इन्जिनियरिङको–अपरेसन लिमिटेडका एसिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङको भनाइ छ।
याङका अनुसार निर्माणका लागि ६० कामदार र अन्य प्राविधिक गरी हाल १ सय १० जना निरन्तर काममा खटेका छन्। शाखा कार्यालय, अस्थायी शिविर आदिको निर्माण कार्य थालनी भइसकेको छ। निर्माण कार्यको औपचारिक बुधबार आरम्भ गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले पोखराको विमान स्थल निर्माणको खबर समग्र देशकै लागि सुखद् हुने धारणा राखे।
पर्यटनको विकासका लागि हवाइका साथै सडक सञ्जाल पनि व्यवस्थित हुनुपर्ने बताउँदै उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियासँगै हवाई मार्गका सम्बन्धमा पनि मन्त्रालयले काम अघि बढाउने जानकारी दिए। आफ्नो मन्त्रालय अन्तर्गत परेका ५ राष्ट्रिय गौरवका अयोजनाको गति तीव्र पार्ने उनको भनाइ छ। ‘राष्ट्रिय गौरवका आयोजाको अबस्था दयनीय छ,’ उनले भने ‘म जति समय मन्त्री पदमा रहन्छु मेरो मन्त्रालय अन्तर्गत पर्ने आयोजना निर्माणलाई तीव्र पार्छु।’
विमानस्थल तयार भएपछि तत्काल प्रयोगमा आउने किसिमले हवाइमार्ग तय लगायतका विषय पनि सँगसँगै अघि बढाइने उनले प्रतिवद्धता जनाए। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पोखरेली जनताको ४० वर्ष लामो सपना भएको बताए। विमानस्थल निर्माणका लागि यो वा त्यो पार्टी र यो वा त्यो संस्था नभनी सिंगो पोखरा एक रहेको उनको प्रष्टोक्ति थियो। स्थानीय सर्वसाधारणसँग सरोकार राख्ने जग्गा अधिग्रहण, मुआव्जा वितरण लगायत विषयको समेत उचित सम्बोधन हुने उनको भनाइ छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक एवं संसदमा विकास समितिका सभापति रवीन्द्र अधिकारीले विमानस्थल निर्माणको पूर्व तयारीमा लामो समय खर्चिसकेको स्मरण गरे। सन् २०२१ जुलाई १० भित्र निर्माण कार्य सम्पन्न हुने अब भरपर्दो आधार तयार भएको उनको भनाइ छ। अब आफूहरु भन्दापनि निर्माता कम्पनीको हातमा निर्माणको काम भरपर्ने अधिकारीले बताए। ‘हाम्रो तर्फबाट सबै सहयोग हुन्छ, अब हामीले भन्दा पनि निर्माता कम्पनीले कामलाई तिव्रता दिने हो, उनले भने, ‘पक्कैपनि निर्माता कम्पनीले तोके भन्दा छिट्टै निर्माण कार्य सम्पन्न गर्ने छ।
हाल निर्माणाधिन विमानस्थल नजिकै रहेको ल्यान्डफिड साइडको व्यवस्थापन गर्न महानगरपालिकालाई र बाँकी जग्गा अधिग्रहणका सम्पूर्ण प्रक्रिया आगामी भदौ १५ भित्र सक्न प्रमुख जिल्ला अधिकारीलाई उनले आग्रह गरे। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले निर्माण कार्यलाई समयमा नै सम्पन्न गराउन स्थानीय सरोकारवाला सबैको सकारात्मक सहयोग पुग्नेमा आफू विस्वस्त रहेको धारणा राखे। पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले स्थानीय तहबाट हुने सम्पूर्ण सहयोग गर्न महानगर तयार रहेको धारणा राखे। उनले
निर्माण सम्पन्न अघि नै ल्यान्डफिड साइड निर्माण गर्नेमा विस्वस्त रहन उनको आग्रह थियो।
सरकारले सुरुमा ३१ सय ६ रोपनी जग्गा अधिग्रहण गरि मुआब्जा वितरण गरिसकेको छ भने पछिल्लो समय थप ५ सय २१ रोपनी जग्गा पनि अधिग्रहण गरि मुआब्जा वितरण गरेको छ । करिब २२ अर्बको लगानीमा निमार्ण हुन लागको विमानस्थल पटक–पटक निर्माण सुरु भयो भने पनि हालसम्म कामले गति लिन सकेको थिएन। बुधबार मन्त्री सहितको बैठक र निरीक्षणपछि भने परियोजनाले गति लिने अपेक्षा पोखरेलीको छ
सांसदद्वय सीता गिरी र शारदा पौडेल, विमानस्थल निर्माण आयोजना निर्देशक प्रदीप अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्ब अध्यक्ष आनन्दराज मुल्मी ,पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे लगायतले निर्धारित समयमा नै विमानस्थल निर्माण हुनुपर्ने र त्यससँगै आवश्यक पूर्वाधार विकास राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।
स्थानीय बासिन्दा, समाजिक संस्था र सरकारको निरन्तर सहयोग आफूले पाउनेमा जेरी याङले विश्वास प्रकट गरे।