बुधबार बेलुका पहिरोले बगायो बस र जीप, खस्यो त्रिशुलीमा, यात्रुहरु भाग्न सफल

588
views

काठमाडौं १९ श्रावण । बुधबार बेलुका मुग्लिन–नारायणघाट सडक खण्डको इच्छाकामना– ६, कालीखोला नजिक भीषण पहिरो जाँदा पहिरोले बस र जीप बगाएको छ । पहिरोले बगाएर एक रात्री बस र स्कारपियो जीप त्रिशुलीमा खसेको छ ।
काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको नाइट बस र मुग्लिनबाट नारायणघाट जाँदै गरेको बा १५ च ९३८१ नम्बरको स्कारपियो जीप ढुंगे पहिरोले उछिट्टिएर त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बेलुका ७ ३५ बजे भएको दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । ढुंगा खस्न थालेपछि बस रोकेर चालक र यात्रुहरु ओर्लिएर हेर्दै गर्दा ठूलो पहिरो झरेर गाडी पहिरोले बगाए पनि सबै यात्रुहरु भाग्न सफल भएका छन् । स्कारपियोमा रहेका चार जना यात्रु पनि गाडीबाट बाहिर भएकाले सकुशल रहेको जनाइएको छ । यात्रुबाहक बसमा २३ जना यात्रु रहेका थिए ।
पहिरोले बाटो पूर्ण रुपमा बन्द भएको छ । आज विहानैबाट पहिरो हटाउन थालिएको प्रहरीले जनाएको छ ।
बुधबार नै नारायणघाट मुग्लिन सडकको प्रधानमन्त्री शेरबहादुर देउवाले हवाइ तथा स्थलगत अवलोकन गरेका थिए । देउवाले बुधबार विहान मुग्लिन सडक खण्डको घुमाउनेसम्म स्थलगत अवलोकन गरेका थिए ।
देउवाले सडक अवलोकन गरी दशैं सम्ममा सडक सहज बनाउन ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएका थिए । झण्डै दुई वर्षदेखि तीन वटा कम्पनीले सडक सुधारको काम गर्दै आए पनि अपेक्षित काम हुन सकेको छैन । वर्षाले गर्दा दुर्घटना बढेपछि केही समयदेखि रात्रीकालीन यातायातका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।