जिल्ला समन्वय समिति नुवाकोटमा काँग्रेसको बहुमत, प्रमुखमा काँग्रेस नेता शन्तमान तामाङ सर्वसहमत

710
views

नवदृष्टि संवाददाता
नुवाकोट, २१, श्रावण । यही साउन २९ गते हुन लागेको मतदानको लागि साउन २३ मा उम्मेदवारहरुको मनोनयन पत्र दर्ताको लागी नेपाली काँग्रेसले तादी गाँउपालिका–४ सुन्दरादेवीका शन्तमान तामाङलाई उठाउने निर्णय गरेको छ ।
सर्वसम्मत रुपमा तामाङलाई निर्णय गरिएको काँग्रेस नेताहरुले जनाएका छन् । नेता तामाङलाई सबैतिरबाट सर्वसहमतीको प्रस्ताव आएकोले उनैको पक्षमा निर्णय हुने स्थानीय नेताहरुले बताए । तादी गाँउपालिका वडा नं. ४ बाट वडा सदस्यमा निर्वाचित तामाङलाई अब गठन हुन लागेको जिल्ला समन्वय समितिको सभापतिको उम्मेदवारका रुपमा उठाउन काँग्रेसका १४ जना उम्मेदवार मध्ये १३ जनाले जिल्ला सभापतिलाई हस्ताक्षर बुझाएका छन् ।
१४ जना काँग्रेस मतदाता मध्ये शिवपुरी गाँँउपालिकाका अध्यक्ष रामकृष्ण थापा बाहेक बाँकी १३ जना उम्मेदवारले हस्ताक्षर गरी जिल्ला समन्वय समितिको सभापति पद तामाङको नेतृत्वमा रहनेगरी निर्वाचनमा उम्मेदवारी दर्ता गर्न पार्टी सभापतिलाई ज्ञापन पत्र बुझाएका हुन् । काँग्रेसको १४ जना उम्मेदवार मध्ये हस्ताक्षर गर्न बाँकी रहेका शिवपुरीका अध्यक्ष थापाले अहिले नै कसैको पक्षमा हस्ताक्षर नगर्ने भन्दै पार्टीको उम्मेदवारलाई भने मत दिने बताउनुभयो ।
जिल्ला समन्वय समितको नेतृत्व चयनको लागी १४ जना काँग्रेसका मतदाता रहेको र त्यसमा पनि १३ जनाले हस्ताक्षर सहित समर्थन जनाएको र बाँकीले पार्टीको उम्मेदवारलाई समर्थन जनाउने बताएकाले तामाङ सभापतिमा र काँग्रेसको समर्थनमा रहेका अन्य उम्मेदवारहरु बिजयी हुने निश्चित भएको छ ।
यसअघि, नेपाली काँग्रेसको तीनवटै निर्वाचन क्षेत्रको क्षेत्रीय समितिको बैठकले गएको साउन ६ गते नै जिल्ला समन्वय समितिको सभापतिमा शन्तमान तामाङको नेतृत्वमा चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरी जिल्ला कार्यसमितिलाई त्यसको जानकारी गराएको छ ।
काँग्रेस नुवाकोट सभापति जगदिश्वरनगरसिंह केसीले सभापतिको विषयमा छलफल जारी रहेकोले अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताउनुभएको छ । अहिले क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र उम्मेदवारबाट सुझाब संकलन भइरहेकाले केही दिनमा नै उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने केसीले बताउनुभयो ।
यसैबीच, काँग्रेस र माओवादी केन्द्रबीच केन्द्रमा भएको सहमति अनुसार नुवाकोट जिल्ला समन्वय समितिमा पनि तालमेलको तयारी भएको छ । २४ जना मतादतामा चारजना मतदाता रहेको माओवादी केन्द्रलाइ केही पद दिएर जिल्ला समन्वय समितिमा दुवै पार्टीको सहभागिता गराउने विषयमा काठमाडौमा दुई पार्टीका नेताहरुबीच छलफल भएको छ ।