‘रसिया र अमेरिकाको सम्बन्ध खतरनाक मोडमा’

607
views

मस्को (रसिया), २१, श्रावण । रसियाली प्रशासन केन्द्र क्रेमलिनले अमेरिका–रसिया सम्बन्ध निकै संकटोन्मुख अवस्थामा पुगेको शुक्रबार बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बिहानै ट्वीट गर्दै अमेरिका–रसिया सम्बन्धमा समस्या आएको जनाउनुभएको थियो । जसमा पछिल्लो समय सम्बन्धमा अनपेक्षित समस्या आउने अवस्था देखिएको बताउनुभएको थियो ।
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँग भन्नुभयो, “हामीले पूर्णतया यो विचार सार्वजनिक गर्न चाहन्छौँ कि अमेरिकी राष्ट्रपतिद्वारा व्यक्त गरेको कुरा वास्तविक देखिन पुगेको छ ।”
दुवै मुलुक र जनताबीच पारस्परिक सहयोग तथा सहकार्य आवश्यक रहेको समयमा यसलाई समस्यातर्फ धकेलिएको अमेरिकी राष्ट्रपतिको भनाईप्रति रसियाली प्रशासन केन्द्र क्रेमलिनले पनि समान धारणा ल्याएको हो ।
संयुक्त राज्य अमेरिकामा गत राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले एउटा बृहत् निर्णायक मण्डल ’ग्र्याण्ड जुरी’ गठन गरेको चर्चा विभिन्न सञ्चारमाध्यममा आएको थियो ।
अमेरिकी मिडियाले त्यसलाई रोबर्ट मुलर अनुसन्धानमा सम्भावित अपराधिक अभियोगमाथि काम गर्न पहिलो कदम भनेका छन् ।
राष्ट्रपति ट्रम्पले हिलारी क्लिन्टनलाई हराउन रसियासँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आएका छन् । जुरीले राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा र रसियाली कानून व्यवसायीबीच जुन २०१६ मा भएको बैठकका सहभागीलाई छानबिनको दायरामा ल्याउने तयारी गरिरहेको छ ।
राष्ट्रपति ट्रम्पले हिलारी क्लिन्टनलाई हराउन रसियासँग साँठगाँठ गरेको भन्ने अस्वीकार गर्दै आए पनि अमेरिकी केन्द्रीय गुप्तचर निकाय (एफबीआई) लगायतका विभिन्न एक दर्जनभन्दा बढी संस्थाले निर्वाचनमा रसियाली हस्तक्षेप रहेको बताएका थिए । सिन्ह्वा÷एपी