तेस्रो निर्वाचनमा पनि एमाले पहिलो नै बन्छ–खनाल

573
views

झापा, २३, श्रावण । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुक अहिले निर्वाचन वर्षको रुपमा अघि बढिरहेको बताउँदै तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने बताएका छन् । झापाको बिर्तामोडमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताए ।
उनले भने, ‘स्थानीय तहको दुबै चरणको निर्वाचनमा एमाले पहिलो भएको छ, तेस्रो चरणमा पनि पहिलो नै हुन्छ ।’ दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर बढ्दै गएको छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले कसैले पनि निर्वाचनलाई रोक्न सक्ने अवस्था नरहेको बताउँदै सरकारले प्रदेश र संघको निर्वाचनको मिति तोक्न ढिलाइ गरेको भन्दै त्यसप्रति एमालेको आपत्ति रहेको उल्लेख गरे । निर्वाचन हुन नदिन विभिन्न किसिमको षड्यन्त्र भइरहेको संकेत गर्दै नेता खनालले त्यस्तो षड्यन्त्र सफल हुन नदिने प्रष्ट पारे । उनले एमालेभित्रैका केही नेताहरुले एमाले आईसोलेट हुने संभावना रहेको कुरा व्यक्त गर्न थालेको भन्दै जनमतको आधार भएको एमाले आईसोलेट नहुने खनालको तर्क थियो ।