राष्ट्रपति र प्रधानमन्त्रीसँग स्वराजको भेट

849
views

नवदृष्टि संवाददाता
काठमाडौ, २७, श्रावण । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छिन् । दुवै भेटमा नेपालको राजनीतिक विषयमा कुनै कुराकानी नभएको सम्बद्ध अधिकारीले जानकारी दिए । स्वराजले मिर्गौला प्रत्यारोपणपछि यो पहिलो विदेश भ्रमण रहेको जानकारी दिएकी थिइन् । राष्ट्रपति कार्यालयका अनुसार भेटमा दुई देशबीचको सम्बन्धबारे चर्चा भएको थियो । स्वराजले राष्ट्रपतिको भारत भ्रमणपछि दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको बताएकी थिइन् । राष्ट्रपतिले स्वराजको स्वास्थ्यबारे चासो राखेको सहभागी एक अधिकारीले बताए ।
परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ होटेल सोल्टीमा बैठकको उद्घाटन गरेका छन् । बिमस्टेकमा नेपालसहित श्रीलंका, भारत, भुटान, बंगलादेश, थाइल्यान्ड र म्यानमार सदस्य छन् । मन्त्रीस्तरीय बैठक शुक्रबार बस्नेछ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बैठकको अध्यक्षता गर्नेछन् । बैठकले बिमस्टेकको चौथो शिखर सम्मेलनको मिति, बिमस्टेकका नयाँ महासचिवलगायतका बारेमा निर्णय लिनेछ ।
परराष्ट्र सचिवहरू सहभागी बिहीबारको बैठकमा बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्र सम्झौता चाँडै टुंग्याउने सहमति भएको छ । बिमस्टेक ग्रिड इन्टरकनेक्सन स्थापना र बिमस्टेक प्रविधि हस्तान्तरण सुविधा स्थापनसम्बन्धी समझदारीपत्रसमेत टुंगिएको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रसचिव शंकरदास बैरागीले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा, पर्यटनमा गहिरो साझेदारीमा जोड दिइएको बताए । उनका अनुसार बिमस्टेक केन्द्रहरू सबै सदस्य राष्ट्रमा शीघ्र सञ्चालनमा ल्याउने पनि सहमति भएको छ ।
नेपालले माउन्टेन इकोनोमीसम्बन्धी अवधारणा अघि सार्ने प्रस्ताव गरेकोमा सबैले सहमति जनाएका छन् । नेपालले अवधारणापत्रलाई अन्तिम रूप दिनका लागि विज्ञ समूहको बैठक आयोजना गर्ने भएको छ । गरिबी निवारणसम्बन्धी विज्ञहरूको बैठक आगामी १ नोभेम्बरमा नेपालले आयोजना गर्ने सहमति भएको छ । बिमस्टेकको नयाँ महासचिवका लागि बंगलादेशका सहिदुल इस्लामको नाम प्रस्तावित भएको छ ।
आतंकवाद प्रमुख चुनौती
प्रधानमन्त्री शेरबहादुर देउवाले बिमस्टेक क्षेत्रमा क्षेत्रीय साझेदारी अघि बढाउनुपर्नेमा नेपाल दृढ रहेको बताए । उनले यो क्षेत्रको शान्ति, विकास, लोकतन्त्रका लागि आतंकवाद प्रमुख चुनौती रहेको र सामूहिक रूपमा यसको सामना गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले नेपाल आतंकवादका कुनै पनि रूप र रंगको भत्र्सना गर्ने पनि उल्लेख गरे ।
उद्घाटन समारोहलाई उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रसचिव शंकरदास बैरागी, बिमस्टेकका महासचिवले सम्बोधन गरेका थिए । उद्घाटनपछि प्रधानमन्त्री देउवाले बिमस्टेकका विदेशमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । बिम्स्टेकका विदेशमन्त्रीहरूको सम्मानमा परराष्ट्रमन्त्री महराले रात्रिभोज दिएका थिए ।
प्रधानमन्त्रीको भ्रमणबारे छलफल
प्रधानमन्त्री देउवासँग २५ मिनेटको भेटमा स्वराजले नेपालको विकासमा भारत सधैँ सहयोगी रहेको बताएकी थिइन् । भेटमा नेपालको राजनीतिक परिस्थिति, चुनावलगायत केही विषयमा पनि छलफल नभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले जानकारी दिए ।‘नेपालको राजनीतिक विषयमा कुनै पनि कुरा भएन, नेपालको विकास र प्रधानमन्त्रीको आसन्न भ्रमणका विषयमा छलफल भयो,’ भट्टराईले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालले चाहेको विषय जान्न खोजेजस्तो लाग्यो । त्यही परिप्रेक्ष्यमा छलफल भयो ।’ प्रधानमन्त्री देउवा ७ देखि ११ भदौसम्म भारतको राजकीय भ्रमणमा जाँदै छन् ।
प्रधानमन्त्री देउवाले विगतमा सम्झौता भएका परियोजना कार्यान्वयनमा जानुपर्नेमा जोड दिँदै भारतको सहयोगमा नेपालको आर्थिक विकास अघि बढाउने नेपालको प्राथमिकता बताएका थिए । प्रधानमन्त्रीसँग भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, परराष्ट्रसचिव शंकरदास बैरागी, भारत हेर्ने महाशाखा प्रमुख भृगु ढुंगाना, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईलगायत सहभागी थिए । भेटमा भारतीय विदेशसचिव एस जयशंकर, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी, नेपाल र भुटान डेस्क हेर्ने भारतीय सहसचिव सुधाकर दलेला सहभागी थिए । स्वराजले प्रधानमन्त्री देउवासँग १० मिनेट बेग्लै कुराकानी गरेकी थिइन् ।
राजपा नेतासँग भेटवार्ता
भारतीय विदेशमन्त्री स्वराजसँग राष्ट्रिय जनता पार्टीका शीर्ष नेताले होटेल सोल्टीमा सामूहिक भेटवार्ता गरेका छन् । राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी, राजकिशोर यादव, महेन्द्र राय यादवले स्वराजसँग भेटेका हुन् । भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन तथा मधेसकेन्द्रित दलहरूबीचको एकतालगायतका बारेका छलफल भएको एक नेताले जानकारी दिए । तर, उनले कुराकानीबारे विस्तृतमा बताएनन् । राजपा नेताले संविधान संशोधन, चुनावलगायतका विषयमा जानकारी दिएका थिए । नयाँ पत्रिकाबाट