पहिरोका कारण बागलुङमा एक हप्ताभित्र आठजनाले ज्यान गुमाए

1424
views

भुमि सुवेदी
बाग्लुङ्ग, २९, श्रावण । बाढी पहिरोका कारण बागलुङ जिल्लामा एक हप्ताभित्र आठजनाको मृत्यु भएको छ । पहिरोले २० वटा घर पूर्ण रुपमा विस्थापित भएका छन् भने ८७ वटा उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार निसिखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा गएको छुट्टा–छुट्टै पहिरोमा पुरिएर चारजना महिला र दुईजना पुरुषको ज्यान गएको छ । पहिरोमा पुरिएर निसीखोला वडा नं. २ बाहुनगाउँका एकै घरका चारजनाको जयान गएको हो । त्यस्तै पहिरोमा पुरिएर निसीखोला वडा नं. १ हुल्दीका एकजना र ढोरपाटन नगरपालिका वडा नं ५ का अर्का एकजनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अनिल खड्काले बताए । गल्कोट नगरपालिका वडा नं. ९ मा घर भत्किँदा एकै परिवारका दुईजनाको ज्यान गएको छ । अहिलेसम्म ६ जना मृतकका परिवारलाई रु. एक लाखका दरले राहत प्रदान गरिएको र बाँकीलाई छिट्टै दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पूर्ण रुपमा घर भत्किएका परिवारमध्ये ६ परिवारलाई मात्रै १० हजार रुपैयाँका दरले राहत प्रदान गरिएको र अन्य परिवारलाई राहत प्रदान गर्ने क्रममा रहेको सहायक प्रमुख जिल्ला अधिकार धुर्व गिरीले बताए ।