व्यवस्थापिका संसदको बैठकमा संविधान संशोधनको प्रस्ताव पेश नहुने, चिकित्सा शिक्षा विधेयक पनि रोकियो

634
views

काठमाण्डौ, ३१, श्रावण । सरकारले प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति भएको र उद्धार तथा राहतमा जुट्नुपरेकोले मंगलवार (आज) बस्ने व्यवस्थापिका संसदको बैठकमा संविधान संशोधनको प्रस्ताव पेश नगर्ने भएको छ । संविधान संशोधन प्रस्तावको पक्षमा दुईतिहाइ पुगे वा नपुगेपनि अघि बढाउन राजपा सहमत भएपछि सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्र संसोधन प्रस्तावका लागि संसदमा मतदानको प्रक्रियामा लैजाने पक्षमा सहमत भएका थिए । दैवि प्रकोप परेकोले सरकार उद्धार तथा राहतमा जुट्नुपरेकोले आजको बैठकमा पेश नहुने नेपाली काँग्रेसका प्रमुख सचेतक चिजनकाजी श्रेष्ठले बताए ।
श्रेष्ठले भने बाढीपहिरो र डुबानबाट ठूलो जनधनको क्षति भएको छ, ‘प्रधानमन्त्रीज्यू प्रकोपग्रस्त क्षेत्रको निरीक्षणमा निस्किरहनुभएको छ । सरकार अहिले उद्धार तथा राहतमा खट्नुपर्ने वेला हो । अनुकूल समयमा अझै राजनीतिक दलहरूबीच छलफल भएपछि मात्रै यो प्रस्ताव संसदमा प्रस्तुत हुनेछ,।’
सत्तारुढ दल माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्माले पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि कतिपय सांसद नै उपत्यका बाहिर रहेकाले संविधान संशोधनको प्रस्ताव मंगलबारको संसद्मा प्रस्तुत नहुने बताइन् । ‘अहिले सबै दल मिलेर पीडित जनताको बीचमा जाने वेला हो । औपचारिक रूपमा संशोधन प्रस्ताव मंगलबार नै संसद्बाट टुंगिदैन भन्न त मिल्दैन, तर यो तत्काल अघि बढ्ने स्थिति अहिले छैन,’ उनले भनिन् ।
प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले संविधान संशोधनजस्तो विषयमा सत्तापक्षले संसदमा प्रस्ताव अघि बढाउनेबारे आफूहरूसँग छलफल नगरेको र सत्तापक्षले दुईतिहाइ पुर्याउन सक्ने स्थिति नरहेकाले पनि यो प्रस्ताव तत्काल प्रस्तुत हुने अवस्था नरहेको बताए ।
दुईतिहाइ पुगे संविधान संसोधन, दुई तिहाइका लागि कसरत
संविधान संशोधनलाई पारित गराउन दुईतिहाइ मत आवश्यक हुन्छ । दुई तिहाईका लागि अर्थात् ३९५ मत पुग्नुपर्ने छ । सत्तारूढ दलसँग अहिले २२ मत अपुग छ । राप्रपा फुटेपछि कमल थापा पक्षले भोट नहाल्दा २२ मत अपुग हुने देखिएको हो । तर, पनि दुईतिहाइ पुर्याउन सत्तारूढ र राजपाले कसरत गरिरहेका छन् ।
समोबारको विदाले चिकित्सा शिक्षा विधेयक समेत रोकियो
आज बस्ने संसद बैठकमा चिकित्सा शिक्षा विधेयकसमेत प्रस्तुत नहुने भएको छ । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिबाट संशोधित विधेयक सर्वसम्मत पारित भइसकेको भएपनि सोमबार सार्वजनिक बिदा परेका कारण आफूले कार्यव्यवस्था परामर्श समितिलाई जानकारी गराउन नपाएकोसमितिका सभापति रञ्जु झा को भनाई छ । झाले मंगलबार कार्यव्यवस्थालाई भने जानकारी गराउने बताएकी छिन् ।
ससोधन प्रस्तावबारे छलफल हुनेमा राजपा नेताहरु आशावादी
राजपा नेता केशव झाले निर्णयार्थ प्रस्तुत नै नभए पनि मंगलबारको कार्यसूचीमा संशोधन विधयेक प्रस्तुत भई छलफल हुने आश्वासन पाएको जानकारी दिए । ‘मंगलबार संशोधन विधेयक संसद्को कार्यसूचीमा प्रवेश हुने सूचना पाएका छौँ,’ उनले भने, ‘संसद्मा प्रस्तुत भएपछि छलफल गरेर मतदानको टुंगो केही दिनमा लाग्छ भन्ने आशा हाम्रो छ ।’