बोलेको कुरा टाईप गर्नै नपर्ने गरी गुगलले ल्यायो नेपाली टाईप सेवा

2145
views

काठमाण्डौ । गुगल एन्ड्रोइड किबोर्डमार्फत नेपालीमा बोलेको कुरा आफै टाइप हुने भएको छ । कुनै म्यासेज लेख्न वा सोसल मिडियामा अपडेट गर्ने स्टाटस लेख्न टाइप गर्ने झण्झटबाट मुक्त हुने गरी गुगलले नेपालीमा बोलेको टाईप हुने सेवा ल्याएको हो ।
गुगलले यो सेवा अंग्रेजी भाषामा धेरै पहिले नै उपलब्ध गराइसकेको थियो । धेरै जनसंख्याले बोल्ने अन्य भाषामा पनि यो सेवा उपलब्ध थियो तर, नेपालीमा थिएन ।
गुगलले सोमबार थप ३० वटा भाषामा यो सेवा उपलब्ध गराएपछि नेपाली बोल्ने प्रयोगकर्तालाई पनि यो सुविधा उपलब्ध भएको छ । अब तपाइले बोलेको कुरा टाइप गर्न, बोलेर कुनै कुरा गुगलमै खोज्न सजिलो भएको छ । अब यो सेवा बिश्वका ११९ भाषामा उपलब्ध छ । थपिने नयाँ भाषाहरुमा भारतका क्षेत्रीय भाषाहरु पनि छन् । अब तमिल, तेलेगु, मराठी, मलायम, कन्नाड र बंगालीजस्ता भाषामा पनि यो सेवा उपलब्ध छ ।
बोलेको कुरा स्वत टाइप हुने बनाउन गुगलले निकै मेहेनत गरेको छ । यसका लागि उसले नेपाली भाषीहरुलाई उनीहरुले मुख्य मुख्य शब्दहरु कसरी बोल्छन भनी नमुना संकलन गरेको छ । त्यही आधारमा उसले मेसिन तयार गरी आफैं टाइप हुने सुविधा तयार गरेको हो ।
यो सेवा प्रयोग गर्न तपाईले गुगल प्ले स्टोरमा गई द गुगल किबोर्ड सर्च गरी गुगल किबोर्ड एप डाउनलोड गर्नुपर्छ । यो किबोर्ड डाउनलोड गरेपछि त्यहाँ आबाजमा बोलेको कुरा स्वतः टाइप हुने सेवा प्रयोग गर्न पाइन्छ । टाइप भएको कुरा तपाईले कपी गरी सोसल मिडिया तथा इमेलमा पेष्ट गर्न सक्नुहुन्छ ।