सप्तगण्डकी क्याम्पसमा लगाइएको ताला तीन महिनापछि खुल्यो, क्याम्पस प्रशासन र विद्यार्थीबीच छ बुंदे सहमति

1223
views

अमृत चापागाई
चितवन । गएको बैशाख १२ गते सप्तगण्डकी क्याम्पस भरतुपर चितवनमा लगाइएको ताला आज तीन महिनापछि खुलेको छ । वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनले क्याम्पस प्रशासनले गरेका गलत गतिविधिको विरोध गर्दै ताला लगाएका थिए ।
आज तीन महिनापछि ६ बुंदामा दुबै पक्षबीच सहमति भई हस्ताक्षर गरिएको छ । क्याम्पस प्रशासन र आन्दोलनरत पक्षका बीच सहमति भएपछि ताला खुलेको हो । सप्त गण्डकी क्याम्पस प्रशासन र अखिल क्रान्तिकारी विद्यार्थी संगठनका बीच क्याम्पसमा कार्यरत प्रध्यापक तथा कर्मचारीहरुको हकमा क्याम्पस सञ्चालन नियमावली तथा त्रिविको नियम अनुसार प्रशासनिक पदमा नियुक्ति स्थायी तथा पदोन्नति गरिने सहमति भएको छ । 
यस्तै अन्य शैक्षिक संस्थामा कार्यरत प्राध्यापकहरु, पूर्णकालिन कर्मचारीहरुलाई प्रशासनिक कार्यमा नियुक्ति गर्ने प्रथाको अन्त्य गर्ने, प्राध्यापक तथा कर्मचारी नियुक्ति गर्दा खुल्ला प्रतिष्पर्धाद्वारा योग्य व्यक्ति नियुक्ति गर्ने लगायतका बुंदाहरुमा सहमति भएको छ ।
क्याम्पस प्रशासन र आन्दोलनरत विद्यार्थीबीच स्थायी तथा अस्थायी पूर्णकालिन र करारमा रहेका प्राध्यापक तथा कर्मचारीहरुलाई सिफ्टमा तोकिएको जिम्मेवारी काममा लगाईने समेत सहमति भएको छ । दुई पक्षका बीच क्याम्पसबाट दिईने छात्रवृत्तिलाई पारदर्शी रुपमा वितरण गरिने, बक्यौता रकम उठाउन प्रशासनले पहल गर्ने र सार्वजनिक गर्ने, युसिजीले दिएको अनुदान रकम र क्याम्पसले लगानी गरिएका निर्माण तथा मर्मत खरीदका कामको छानविन गर्ने लगायतका निर्णयहरुमा हस्ताक्षर भएपछि ताला खुलाइएको अखिल क्रान्तिकारी सप्तगण्डकी मुल ईकाई समितिका अध्यक्ष कृष्ण सुनारले बताए ।

यता क्याम्पस प्रमुख खेमराज सापकोटाले भने क्याम्पसलाई राजनीतिको थलो बनाउँदा आन्दोलन लम्बिएको बताए । सापकोटाले भने ‘१५ दिनभित्रै हुने सहमतिलाई विद्याथीहरुले लम्ब्याउने प्रयत्न गर्दा विवाद लम्विन पुगेको हो ।’ क्याम्पस प्रमुख सापकोटाले कुनैपनि सार्वजनिक संघसंस्थाहरुमा ताला लगाउँदा निजिकरणले प्राथमिकता पाउने भएकोले त्यस्ता विषयहरुमा आन्दोलनरत पक्ष गम्भिर बन्नुपर्ने भन्दै सप्तगण्डकी क्याम्पसमा भएका राम्रा कार्यहरुको प्रचार ओझेलमा परेको नवदृष्टिलाई बताए । सप्त गण्डकी क्याम्पस विगत २७ बर्ष पहिले सञ्चालनमा आएको हो ।